
साबिक विजेता विभागीय नेपाल पुलिस क्लबले महिलातर्फ नवौं संस्करणको भलिबल लिगमा च्याम्पियन बनेको छ।
पुलिस क्लबले लगातार पीएम कप एनभीए भलिबल लिगको उपाधि रक्षासमेत गरेको छ।
पुलिसले फाइनलमा टिपटप न्यु–डायमण्ड युथ स्पोर्ट्सलाई फाइनलमा ३–१ को सेटमा हराउँदै उपाधि रक्षा गर्यो।
पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमा विहीबार भएको फाइनलमा पुलिसले न्यु–डायमण्डलाई २५–२०, २२–२५, २८–२६ र २५–१४ ले सहज जीत निकाल्यो।
च्याम्पियन बनेको नेपाल पुलिसले उपाधिसहित सर्वाधिक राशिको नगद ८ लाख रुपैयाँ पुरस्कार जित्यो।
उता, उपविजेता बनेको न्यु–डायमण्डले नगद ४ लाख पुरस्कार जित्यो।
महिलातर्फ घरेलु एभरेस्ट भलिबल क्लब तेस्रो बन्यो।
तेस्रो बनेको एभरेस्टले नगद २ लाख पुरस्कार जित्यो।
तेस्रो स्थानका लागि भएको खेलमा एभरेस्टले विभागीय एपीएफ क्लबलाई ३– को सेटमा हराएको थियो।
एभरेस्टले एपीएफमाथि २५–१८, १०–२५, २५–१३ र २९–२७ ले जीत निकालेको थियो।
च्याम्पियन बनेको विभागीय नेपाल पुलिस क्लबले नेपालको प्रतिनिधित्व गर्दै माल्दिभ्समा हुने काभा क्लब च्याम्पियनसीपमा समेत छनोट भएको छ।
एनभीए भलिबल लिगमा महिलातर्फ विभागीय पुलिसकी उषा भण्डारी सर्वोत्कृष्ट खेलाडी बनिन्।
सर्वोत्कृष्ट खेलाडी बनेकी उषाले ५० लाख पुरस्कार जितिन्।
यस्तै, लिगमा महिलातर्फको उपविजेता टिपटप न्यु डायमण्ड क्लबकी सलिना श्रेष्ठ उत्कृष्ट लिब्रो बनिन्।
विजेता नेपाल पुलिस क्लबकी कमला पुन उत्कृष्ट सेटर बनिन्।
तेश्रो भएको एभरेष्ट भलिबल क्लबकी मिना सुनार उत्कृष्ट सर्भर घोषित भइन्।
नेपाल पुलिस क्लबकी कामना विष्ट उत्कृष्ट स्पाइकर बनिन्।
न्यु डायमण्डकी सुमित्रा रेग्मी उत्कृष्ट ब्लकर बनिन्।
पुलिसका रुपेश विष्ट उत्कृष्ट प्रशिक्षक बने।
उनीहरुले जनही २५/२५ हजार पुरस्कार जितेका छन्।