
फेवातालको सीमाना (तालघर) मा पिल्लरहरु गाढ्ने कामको सुरुवात गरिएको छ।
तिनै तहका सरकारका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थितिमा फेवाताल सम्बन्धमा सर्वोच्च अदालतको पछिल्लो फैसला कार्यान्वयनका लागि तालको सिमांकन गरी सीमाक्षेत्रमा पिल्लरहरु गाढिएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताए।
पहिलो दिन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, प्रदेश प्रहरी कार्यालय गण्डकीका प्रमुख प्रहरी नायव निरीक्षक दिनेशकुमार आचार्यलगायतको उपस्थितिमा फेवातालको सीमाक्षेत्रमा ७ वटा पिल्लरहरू गाढिएका छन्।
फेवातालको पछिल्लो पटक पुन: नापजाँच गरी तालको यथार्थ अवस्थाबारे विवरणहरू यकिन गरिएका छन्।
फेवातालको सिमांकन गरी प्रतिवेदन पेस गर्न गठित प्राविधिक उपसमितिले फेवातालको सीमाना यकिन गर्न डीजीपीएस प्रविधि र ड्रोन सर्वेमार्फत डिटेल सर्वेक्षण गरेको थियो।
पछिल्लो रिपोर्टअनुसार २९ वटा मुख्य आधार विन्दुहरू कायम गरी ४० से.मि. उचाईका २९ पिल्लरहरु जमिनमुनि गाढिएका छन्।
यसको आधारमा ९ हजार नियन्त्रण बिन्दुहरू कायम गरिएको छ।
ती विन्दुहरूको आधारमा तालको चार किल्ला क्षेत्रको सीमानामा १ हजार ५५ वटा पिल्लरहरू गाढिने योजना छ।
सिचाइँ डिभिजन कार्यालय कास्कीको विगत १० वर्षको रेकर्ड तथा विभिन्न समयमा बनेका फेवातालका नक्साहरूको अध्ययनपछि फेवातालको हाई फ्लोड लेबल ७९४.९५ मिटर कायम गरिएको छ।
उक्त विन्दुलाई आधार मान्दा तालघर ६.३४३ वर्ग कि.मि. अर्थात् १२ हजार ४६८ रोपनी ३ पैसा ३ दाम कायम हुन आउँछ।