नेपाल दोस्रो मैत्रीपूर्ण फुटबल खेलमा पनि थाइल्यान्डसँग पराजित

दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल, थाइल्यान्डसँग २–० ले स्तब्ध बन्यो

जनसम्मत
जेठ २०, २०८२, मंगलवार

नेपालले अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा लगातार दोस्रो हार व्यहोरेको छ।

नेपाल, थाइल्यान्डसँगको दोस्रो मैत्रीपूर्ण खेलमा पनि २–० ले पराजित भएको छ।

थाइल्यान्डको थम्मासत रंगशालामा सोमबारसम्पन्न खेलमा घरेलु टिमलाई जीत दिलाउन चात्चावन रोथ्डोङ र जिरापोनले मोगंकोल्डेले १/१ गोल गरे।

नेपालले दुवै गोल दोस्रो हाफमा व्यहोरेको हो।

खेलको ६० औँ मिनेटमा चात्चावनले फ्रीकिक गोलमा थाइल्यान्डलाई अग्रता मिल्यो।

त्यसपछि, ७३ औँ मिनेटमा जिरापोनको गोलमा थाइल्यान्डको अग्रता दोब्बर बन्यो।

हारसँगै नेपाल थाइल्यान्डसँगको दुवै खेलमा पराजित भएको छ।

यसअघि गत शुक्रबार (मे ३०) टोलीले बन्द रंगशालामा सम्पन्न खेलमा १–० को हार व्यहोरेको थियो।

नेपालले दुवै खेल आगामी वर्ष अस्ट्रेलियामा हुने एएफसी एसियन महिला कप छनोटको तयारीस्वरुप खेलेको हो।

एएफसी महिला एसिया कप छनोटमा नेपाल समूह ‘एफ’ मा छ।

यो समूहमा नेपालसँगै घरेलु टिम उज्वेकिस्तान, लाओस र श्रीलंका छन्।

समूहबाट विजेताले आउँदो वर्ष अस्ट्रेलियामा हुने एएफसी महिला एसिया कपमा स्थान पक्का गर्नेछ।

छनोटअन्तर्गत नेपालले जुन २९ मा लाओससँग खेल्ने तालिका छ।

त्यसैगरी, जुलाई २ मा श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ।

त्यस्तै, जुलाई ५ मा उज्वेकिस्तानसँग खेल्नेछ।

तस्बीर: एन्फा