सेनाका तिलकबहादुर सुनुवार र सुनमाया बुढाले जिते अन्नपूर्ण म्याराथन

निर्धारित दूरी पार गर्न तिलकले ४ घण्टा २४ मिनेट ४ सेकेन्ड र सुनमायाले ४ घण्टा ४१ मिनेट २५ सेकेन्ड लगाए

जनसम्मत
जेठ २१, २०८२, बुधबार

तिलकबहादुर सुनुवार र सुनमाया बुढाले पाँचौं संस्करणको अन्नपूर्ण म्याराथन जितेका छन्।

पुरुषतर्फ तिलक र महिलातर्फ सुनमायाले म्याराथन जितेका हुन्।

विभागीय नेपाली सेनाका प्यूठ तिलकले ४ घण्टा २४ मिनेट ४ सेकेन्डमा दूरी पार गर्दै च्याम्पियन बने।

म्याराथन च्याम्पियन बनेका तिलकले १ लाख ५० हजार पुरस्कार जिते।

त्यस्तै, पुरुषतर्फ विभागीय नेपाली सेनाकै सुवेदार होमलाल श्रेष्ठले ४ घण्टा ३० मिनेट ४८ सेकेन्डमा दूरी पार गर्दै दोस्रो भए।

दोस्रो भएका होमलालले नगद १ लाख रुपैयाँ पुरस्कार जिते।

दलबहादुर कुँवरले ४ घण्टा ३३ मिनेट २१ सेकेन्डमा दूरी पुरा गर्दै तेस्रो भए।

तेस्रो बनेका दलबहादुरले नगद ५० हजार पुरस्कार जिते।

स्थानीय धावक सचिन गुरुङले ४ घण्टा ३६ मिनेट ३ सेकेन्डमा दूरी पुरा गर्दै सान्त्वना पुरस्कार नगद ३० हजार रुपैयाँ जिते।

महिलातर्फ सुनमायाले ४ घण्टा ४१ मिनेट २५ सेकेन्डमा दूरी पार गर्दै उपाधि हात पारिन्।

उपाधिसँगै सुनमायाले नगद १ लाख ५० हजार रुपैयाँ पुरस्कार जितिन्।

त्यस्तै, राममाया बुढाले ४ घण्टा ५० मिनेट २४ सेकेन्डमा दूरी पूरा गर्दै म्याराथनमा दोस्रो भइन्।

दोस्रो बनेकी राममायाले नगद १ लाख रुपेयाँ पुरस्कार जितिन्।

कल्पना बुढाले ५ घण्टा २ मिनेट ४० सेकेन्डमा म्याराथन समापन गर्दै तेस्रो बनिन्।

तेस्रो बनेकी कल्पनाले नगद ५० हजार पुरस्कार प्राप्त गरिन्।

महिलातर्फ विजयी तीनैजना कर्णालीको जुम्ला जिल्ला पातारासी गाउँपालिका २, पैरे गाउँका हुन्।

अन्नपूर्ण गाउँपालिका–१०/११ मा अन्नपूर्ण आरोहण दिवसको अवसरमा पाँचौं संस्करणको अन्नपूर्ण म्याराथन आयोजना गरिएको हो।

अन्नपूर्ण सेञ्चुरी पर्यटन समितिद्वारा आयोजित यो म्याराथन समुद्री सतहबाट ४,१३० मिटर उचाईमा रहेको अन्नपूर्ण आधार शिविरबाट सुरु भई पर्यटकीय गाउँ घान्द्रुकमा समापन भएको हो।

‘सबै मौसमका लागि पर्यटन’ भन्ने नारासहित भएको यो प्रतिस्पर्धात्मक दौड माछापुच्छ्रे आधार शिविर, बगर, देउराली, हिमालय, दोभान, बम्बो, सिनुवा, भनुवा, छोम्रोङ, ताउलु घुर्जुङ, चुइले, मेलाँचे, कोम्रोङडाँडा, किम्रोङखोला, उरी हुँदै घान्द्रुकमा सम्पन्न भएको थियो।