पोखरामा प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुँदै

प्रतियोगितामा राष्ट्रियस्तरको शीर्ष ६ टिमले प्रतिस्पर्धा गर्नेछ

जनसम्मत
जेठ २१, २०८२, बुधबार

पोखरामा पोखरामा प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुँदैछ।

नेसनल स्पोर्ट्स एकेडेमीको आयोजनामा यही जेठको २७ देखि ३१ गतेसम्म पोखरामा भलिबल प्रतियोगिता हुन लागेको बुधबार पत्रकार सम्मेलनमा एकेडेमीले जनाएको छ।

०७५ सालमा तत्कालीन प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले भलिबललाई राष्ट्रिय खेल घोषणा गरेकाले यो खेलको विकासमा थप योगदान गर्न प्रतियोगिता सुरु गर्न लागिएको कोइरालाले बताए।

प्रतियोगितामा राष्ट्रियस्तरको शीर्ष ६ टिमले प्रतिस्पर्धा गर्ने एकेडेमीका अध्यक्ष दीपक कोइरालाले जनाए।

प्रतियोगितामा घरेलु गण्डकी प्रदेश भलिबल टिमसहित ३ विभागीय क्लबहरु त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब र एभरेस्ट भलिबल क्लबले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताको विजेता टिमले ट्रफीसहित नगद ६ लाख, उपविजेताले नगद ३ लाख र तेस्रो हुने टिमले नगद १ लाख पुरस्कार जित्नेछन्।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ३० हजार पुरस्कार जित्नेछ।

त्यस्तै, विधागततर्फ उत्कृष्ट लिब्रो, स्पाइकर, लिफ्टर, सेटर, ब्लकर र सर्भरले २० हजार पुरस्कार जित्नेछन्।

प्रतियोगिता राउन्ड रोबिन लिगको आधारमा खेलाइने अध्यक्ष कोइरालाले बताए।

कोइरालाका अनुसार नेपाल भलिबल संघ र एनआइभीबीको नियमअनुसार सम्पन्न गरिनेछ।

राष्ट्रिय खेलकुद परिषद र नेपाल भलिबल संघको स्वीकृतिमा प्रतियोगिता हुन लागेको भलिबल संघका केन्द्रीय उपाध्यक्ष यामबहादुर गुरुङले बताए।

गुरुङका अनुसार प्रदेश खेलकुद परिषद गण्डकी र जिल्ला खेलकुद विकास समिति कास्कीको विशेष सहयोग रहनेछ।

तस्बीर: सुदर्शन रञ्जित