
संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारलाई समाजको वास्तविकता देखाउनका लागि सशक्त खोजी पत्ररिताको आवश्यक पर्ने औंल्याएका छन्।
राष्ट्रिय सूचना आयोगको सहकार्य र नेपाल पत्रकार महासंघद्वारा मंगलबार आयोजित ‘विश्वसनीय पत्रकारिताका लागि सूचनाको हकको प्रयोग’ विषयक अन्तक्र्रियामा सरकारका प्रवक्तासमेत रहेका मन्त्री गरुङको तर्क थियो, ‘सरकारको ध्यान केन्द्रीत गराउने खालका खोजमूलक पत्रकारिता अहिलेको आवश्यकता हो।’
मन्त्री गुरुङले संपूर्ण सरोकारवालामाझ छलफल गरेर आमसंचार विधेयक ल्याइने जानकारी दिए।
आवश्यक सुझाव दिएर कानुन निर्माणमा सहयोग गर्न उनले आग्रह गरे।
मन्त्री गुरुङले पत्रकारिताको गुणस्तरीयता सबैभन्दा महत्वपूर्ण हुने उल्लेख गरे।
उनले पत्रकारलाई प्रशिक्षण दिन तालिम केन्द्र तत्काल आवश्यक रहेको औंल्याए।
संचारमन्त्री गुरुङले भने, ‘हामीलाई गुणस्तरीय पत्रकारिताको खाँचो छ। त्यसका लागि तालिम केन्द्र आवश्यक छ।’
उनले मुलुकमा सुशासन कायम गर्न सरकारको काममा पारदर्शीता जरूरी रहेको र सूचनाको हकले सरकारलाई जनताप्रति थप जवाफदेही बनाउने धारणा राखे।
राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त डा सुरेशप्रसाद आर्चायले सूचनाको हक प्रत्येक नागरिकले पाउनुपर्ने भएपनि पत्रकारले यस हकलाई अझै नागरिकमुखी बनाउनुपर्नेमा जोड दिए।
नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले पत्रकारिता र सूचनाको हक पर्यावाची जस्तै भएकाले यसको महत्त्व उच्च रहेको औंल्याइन्।
उनले संचार मन्त्रीलाई पत्रकार महासंघसँग सहकार्य गरेर नीति तथा संचार योजना बनाउन अनुरोध गरिन्।