विश्वकप लिग–२ मा नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले हरायो

नेपाल १४ खेलमा १० अंकका साथ लिगको सातौं स्थानमा छ

जनसम्मत
जेठ २१, २०८२, बुधबार

आइसीसी क्रिकेट विश्वकप लिग–२ को खेलमा नेपालले नेदरल्यान्ड्सलाई पराजित गरेको छ।

स्कटल्यान्डको डुन्डीमा बुधबार भएको खेलमा नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले हराएको हो।

नेदरल्यान्ड्सले दिएको २२६ रनको लक्ष्य नेपालले ४७ ओभर १ बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो।

नेपालका आरिफ शेखले सर्वाधिक ७८ रन बनाए ।

खेलमा अर्धसतक बनाएका उनी ‘प्लेयर अफ द म्याच’ घोषित भए।

यस्तै, दीपेन्द्र सिंह ऐरीले ३८ रन जोडे।

नेदरल्यान्ड्सका माइकल लेभिटले २ विकेट लिए।

त्यसअघि, टस जितेर ब्याटिङ रोजेको नेदरल्यान्ड्सले २२५ रन बनाएको थियो।

स्कटल्यान्ड नोहा कोर्सले ४८ रन बनाए।

नेपालका लागि सोमपाल कामीले ३ तथा करण केसी, ललित राजवंशी र सन्दीप लामिछानेले समान २ विकेट लिए।

यसअघि, अस्तिको खेलमा नेपालले स्कटल्यान्डलाई १ विकेटले हराएको थियो।

नेपाल १४ खेलमा १० अंकका साथ लिगको सातौं स्थानमा छ।

नेदरल्यान्ड्स २१ खेलमा २६ अंकसहित दोस्रो स्थानमा यथावत् छ।

स्कटल्यान्ड १७ खेलमा २० अंकका साथ चौथो स्थानमा छ।

नेपालले अब अर्को खेल यही जेठ २५ गते स्कटल्याण्ड र २७ गते फेरि नेदरल्यान्ड्ससँग खेल्नेछ।

८ टोली सहभागी विश्वकप लिग–२ ओडीआई विश्वकप २०२७ को छनोट सिरिज हो।

लिगको अन्तिममा शीर्ष ४ मा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सीधै स्थान बनाउने छ।

पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोट ‘प्ले–अफ’ खेल्नुपर्नेछ।