
नेपाल हेरिटेज २५ किलोमिटर रेसको उपाधि महिलातर्फ नेपालकी सन्तोषी श्रेष्ठ र पुरुषतर्फ केन्याका जुलियस म्युरुकीले जितेका छन्।
प्रतियोगिताको महिलातर्फ सन्तोषीले १ घण्टा ३१ मिनेट ४३ सेकेन्डमा दुरी पार गरिन्।
यस्तै, महिलातर्फ आर्मीकी निशा सार्की दोस्रो भइन्।
सशस्त्र प्रहरी बल (एपीएफ) की पुष्पा भण्डारी तेस्रो भइन्।
त्यस्तै, प्रतियोगितामा पुरुषतर्फ जुलियसले १ घण्टा १६ मिनेट ४८ सेकेन्डमा दुरी पार गरे।
यस्तै पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका विनोद रोकाया दोस्रो बने।
सुशील केसी तेस्रो भए।
पुरुष र महिला दुवैतर्फको विजेता सन्तोषी जुलियसले १ लाख पुरस्कार पाए।
दोस्रो हुने निशा र विनोदले ५० हजार पुरस्कार पाए।
तेस्रो हुने पुष्पा र सुशीलले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।
२५ किलोमिटरको रेस त्रिपुरेश्वरको दशरथ रंगशालाबाट सुरू भएर कुपण्डोल, पाटन कृष्ण मन्दिर, ग्वार्काे, एअरपोर्ट, गौशाला, कालोपुल, कमलपोखरी, लैनचौर, स्वयम्भू, ताहाचल, वसन्तपुर हुँदै दशरथ रंगशालामै आएर टुंगिएको थियो।
प्रतियोगितामा दुवैतर्फ १८ वर्षमुनि र भेट्रान समूहमा पनि प्रतिस्पर्धा भएको थियो।
यी दुवै समूहमा विजेताले १० हजार, दोस्रो हुनेले ६ हजार र तेस्रो हुनेले ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।