
आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु टोली स्कटल्यान्डसँगको खेलमा नेपाल २ रनले पराजित भएको छ।
स्कटल्यान्डले दिएको ३२४ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ओभरमा ३२१ रनमा अलआउट बन्यो।
नेपालका लागि भीम सार्कीले सर्वाधिक ७३ रन बनाए।
सोमपाल कामीले ६७ रन थपे।
दीपेन्द्रसिंह ऐरीले ५६ रन जोडे।
स्कटल्यान्डका म्याकेन्जी जोन्सले ३ विकेट लिए।
यस्तै सफियान शरीफ र माइकल लीस्कले समान २ विकेट लिए।
ब्रान्डन म्याकमुलेन र चार्ली क्यासलले समान १ विकेट लिए।
त्यसअघि, स्कटल्यान्डको फोर्थहिल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले ५० ओभरमा ६ विकेट गुमाएर ३२३ रन बनाएको थियो।
स्कटल्यान्डका लागि कप्तान रिची बेरिङ्टनले १०२ रन बनाए।
यस्तै, माइकल लीस्कले ९६ रन थपे।
चार्ली टियरले ६८ रन जोडे।
नेपालका करन केसी र दीपेन्द्रसिंह ऐरीले समान २/२ विकेट लिए।
ललित राजवंशीले १ विकेट लिए।
यो जीतसँगै स्कटल्यान्ड १९ खेलबाट २४ अंकसहित तालिकाको तेश्रो स्थानमा उक्लिएको छ।
१५ खेलबाट १० अंकसहित नेपाल सातौं स्थानमा यथावत छ।
लिग–२ को तालिकामा अमेरिका शीर्ष स्थानमा छ।
लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलामा घरेलु टोली स्कटल्यान्ड, नेपाल र नेदरल्यान्ड्स सहभागी छन्।
नेपालले पहिलो खेलमा स्कटल्यान्डलाई एक विकेटले हराएको थियो।
यस्तै दोस्रो खेलमा नेदरल्यान्ड्सलाई ५ विकेटले हराएको थियो।
लिग–२ को चौथो तथा अन्तिम खेलमा नेपालले भोलि (मंगलबार) फेरि नेदरल्यान्ड्ससँग खेल्ने तालिका छ।
लिग–२ को शीर्ष ४ मा रहने टोली विश्वकपको ग्लोबल छनोटमा सीधै पुग्नेछन्।
यस्तै, पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोट ‘प्ले–अफ’ खेल्नुपर्ने हुन्छ।