गण्डकी प्रदेश सरकारले प्रेस स्वतन्त्रतामाथि कहिल्यै हस्तक्षेप गर्दैन

मुख्यमन्त्री पाण्डे औंल्याउँछन्, ‘प्रेसमाथि नियमन भने जरुरी छ’

जनसम्मत
जेठ २५, २०८२, आइतबार

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले प्रेस स्वतन्त्रतामाथि कहिल्यै हस्तक्षेप नगर्ने बताएका छन्।

नेपाल पत्रकार महासंघ गण्डकीको आयोजनामा आइतबारदेखी सुरु प्रदेशस्तरीय ‘मल्टिमिडिया रिपोर्टिङ तालिम’ को उद्घाटन गर्दै मुख्यमन्त्री

पाण्डेले औंल्याए, ‘प्रदेश सरकारले प्रेस स्वतन्त्रतामाथि कहिल्यै हस्तक्षेप गर्दैन। तर, नियमन भने जरुरी छ। सकारात्मक साेंच र केही गर्न सकिन्छ भन्ने आत्माविश्वास जगाउने गरी सूचना, समाचार सम्प्रेषण गर्नुहोला।’

मुख्यमन्त्री पाण्डेले पत्रकारको हकहित र क्षमता वृद्धिलगायतकालागि प्रदेश सरकार सधै साथमा रहने उल्लेख गरे।

‘अहिलेको व्यवस्था ल्याउनका लागि संचार जगतको महत्वपूर्ण भूमिका र योगदान छ। यसलाई जोगाउने भुमिका पनि महत्वपूर्ण छ’, उनले भने।

गण्डकी प्रदेश सरकारले आम संचार विधेयक जारी गरेको जनाए।

उनले भने, ‘गण्डकी प्रदेश सरकारले आम संचार विधेयक जारी गरेमिडियामैत्री पुष्टि गरिसकेको छ। प्रदेशको प्रेस रजिस्ट्रार कार्यलयसमेत स्थापना भइसकेको छ। अव, प्रेस रजिस्ट्रार कार्यालयमार्फत मिडिया जगतका लागि नविनतम कार्यक्रम संचालन हुनेछ।’

आयोजक नेपाल पत्रकार महासंघ, गण्डकीका अध्यक्ष रमेश पौडेलले समयको मागअनुसार प्रविधिमैत्री तालिमको आयोजना गरिएको बताए।

तालिममा सिकेका कुराहरुले भोलिका दिनमा काम गर्न सहजता हुनेमा विश्वस्त रहेको जनाए।

२ दिनसम्म चल्ने तालिममा गण्डकी प्रदेशका ११ वटै जिल्लाबाट ५० जना पत्रकारहरुको सहभागिता छ।

तालिममा डिजिटल माध्यमको प्रयोग तथा मल्टिमिडिया सामग्री निर्माणसम्बन्धी विषयमा प्रशिक्षण दिइनेछ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तालिमको लागि सहयोग गरेको छ।