
विभागीय शसस्त्र प्रहरी बलको एपीएफ क्लव पहिलो संस्करणको प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ।
पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्डहलमा शनिबार भएको विभागीय फाइनल डर्बीमा नेपाल पुसिल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपीएफ क्लब च्याम्पियन बनेको हो।
एपीएफले पुलिसलाई २५–१९, २५–२० र २५–१३ को सोझो सेटमा पराजित गर्यो।
विजेता एपीएफले उपाधिसहित नगद ६ लाख रुपैयाँ पुरस्कार जित्यो।
उपविजेता नेपाल पुलिसले नगद ३ लाख रुपैयाँसहित रनर–अप ट्रफी जित्यो।
एपीएफले नेपाल पुलिस क्लबसँग लिग चरणको बदला लिदैँ उपाधि चुम्यो।
लिग चरणको उद्घाटन खेलमा पुलिसले एपीएफलाई सोझो सेटमा जितेको थियो।
पुलिस क्लब, २ साताअघि पोखरामै सम्पन्न नवौं संस्करणको पीएम कप एनभीए भलिबल प्रतियोगिताको विजेता टिम हो।
एपीएफ भने त्यस प्रतियोगितामा तेस्रो स्थानमा सीमित बनेको थियो।
त्यसैगरी तेश्रो स्थानको लागि शनिबार भएको खेलमा एभरेष्ट क्लवलाई सोझो सेटमा पराजित गर्दै न्यु डायमण्डले तेश्रो स्थान ओगट्यो।
न्यु डायमण्डले एभरेष्ट क्लवलाई २५–८, २५–१९ र २५–११ को सोझो सेटमा पराजित गर्यो।
तेस्रो बनेको न्यु डायमण्ड नगद १ लाख रुपैयाँ पुरस्कारमा सीमित बन्यो।
च्याम्पियन एपीएफकी निरुता ठगुन्ना प्रतियोगिताको ‘सर्वोत्कृष्ट खेलाडी’ बनिन्।
‘सर्वोत्कृष्ट खेलाडी’ बनेकी निरुताले नगद ३० हजार पुरस्कार जितिन्।
त्यसैगरी, प्रतियोगिताको विधागततर्फ, एपीएफ क्लबकै जसना महतो ‘उत्कृष्ट सेटर’ बनिन्।
एपीएफकै सृष्टि खड्कीले ‘उत्कृष्ट सर्भर’को टाइटल जितिन्।
एपीएफकै पुष्पजंग मल्लले ‘उत्कृष्ट प्रशिक्षक’को टाइटल जिते।
नेपाल पुलिस क्लबकी उषा भण्डारीले ‘उत्कृष्ट स्पाइकर’ को टाइटल जितिन्।
न्यु डाइमण्डकी सुमित्रा रेग्मीले ‘उत्कृष्ट ब्लकर’को टाइटल जितिन्।
न्यु डायमण्डकै सलिना श्रेष्ठले ‘उत्कृष्ट लिब्रो’को टाइटल जितिन्।
उनीहरुले जनही २०/२० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे।
नेपालको राष्ट्रिय खेल भलिबलको प्रवद्र्धन तथा विकासका लागि पोखरामा उक्त प्रतियोगिता यही जेठ २७ गतेदेखि सुरु भएको अध्यक्ष कोइरालाले जनाए।
राष्ट्रिय खेलकुद परिषद् र नेपाल भलिबल संघको स्वीकृतमा वार्षिक कार्यक्रमअन्तर्गत पोखरामा भलिबल खेलाइएको हो।
प्रतियोगितामा ६ टिमको प्रतिस्पर्धा थियो।
तस्बीर: योगेन श्रेष्ठ