
पोखरामा स्थानीय तह स्थलगत रिपोर्टिङसम्बन्धी तालिम सुरु भएको छ।
प्रेस सेन्टर कास्की र समाजवादी प्रेस संगठन कास्कीले संयुक्त रुपमा २ दिने तालिमको आयोजना गरेको हो।
पोखरा महानगरपालिकाको सहयोगमा सोमबार पोखरा–९, बास्तोलाथरबाट सुरु भएको तालिम मंगलबार पोखरा–३१ को पचभैयामा सम्पन्न भएको थियो।
तालिममा नयाँ पत्रिका दैनिकका बरिष्ठ सम्वाददाता, स्थानीय तहसम्बन्धी रिपोर्टिङ गर्दै आएका शिवहरी घिमिरेले स्थानीय तहका अधिकार, तिनले गर्ने काम, कन्टेन्ट राइटिङसँगै स्थलगत रिपोर्टिङबारे सहजीकरण गरेका थिए।
त्यस्तै, फोटो पत्रकार राम गुरुङले फोटो पत्रकारितासम्बन्धी सहजीकरण गरेको प्रेस सेन्टर कास्कीका अध्यक्ष दीननाथ बरालले जानकारी दिएका छन्।
तालिममा उल्लेखनीय रुपमा अग्रजदेखि अनुज पुस्ताका पत्रकारहरु सहभागी भएका थिए।
प्रशिक्षार्थीहरुलाई पोखरा–२१, ३३ र ३० का विभिन्न ठाउँमा निर्माण भइरहेका सडकहरुको स्थलगत अवलोकन गराई त्यसको स्थलगत रिपोर्टिङबारे जानकारी गराइएको थियो।
तालिमको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरेका थिए।
उनले पत्रकारले स्थलगत रिपोर्टिङ गरेमात्रै सत्य–तथ्य बाहिर आउने अवस्था बन्ने बताए।
अन्यथा, कसैले भनेको वा सुनेको भरमा मात्रै समाचार लेख्दा तथ्य लुक्ने खतरा रहने उनको दाबी थियो।
कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी नवराज सुवेदीले स्थलगत रिपोर्टिङ पत्रकारिताको मुख्य मर्म भएको बताए।
यसको अभ्यास बिना पत्रकारिता भुत्ते हुने उनको भनाई थियो।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले स्थलगत रिपोर्टिङले मात्र पत्रकारितालाई जिवन्त बनाउने औंल्याए।
त्यसैले यसको अभ्यास जीवन्त पत्रकारिताका लागि अपरिहार्य भएको उनको भनाई थियो।
समाजवादी प्रेस संगठन कास्कीका सचिव भीमबहादुर थापाले पत्रकारिताको सुदृढिकरणसँगै पत्रकारको सशक्तिकरणमा महानगरले सघाउनुपर्ने बताए।
त्यसका लागि महानगरले रातो कितावमै उल्लेख गरेर बजेट राख्ने विश्वास व्यक्त गरे।
तालिममा सहभागी प्रशिक्षार्थीहरुमध्ये सरला त्रिपाठी र असफल गौतमले तालिम स्थलगत रिपोर्टिङ अभ्यासका लागि फलदायी भएको बताए।
तालिममा सिकेको कुराहरु व्यवहारमा उतार्ने उनीहरुले प्रतिबद्धता जनाए।
उनीहरुले यस्ता तालिमहरु आगामी दिनमा पनि आयोजना गर्न माग गरे।
प्रशिक्षक शिवहरी घिमिरे तालिममा सिकेको कुराहरु व्यवहारमा उतार्न प्रशिक्षार्थीहरुलाई आग्रह गरे।
‘अभ्यासले मात्रै पोख्त बनाउँछ’, उनले भने।