पत्रकारिता सुदृढीकरणका लागि गण्डकी प्रदेश सरकार प्रतिबद्ध छ

मन्त्री थापाको आग्रह थियो, ‘समाजप्रति उत्तरदायी, तथ्यमा आधारित र नागरिकलाई सशक्त पार्ने पत्रकारिता गर्नूहोला’

जनसम्मत
जेठ २७, २०८२, मंगलवार

गण्डकी प्रदेश सरकारको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले पत्रकारिताको मर्यादा, स्वतन्त्र प्रेसको सम्मान र मिडिया क्षेत्रको सुदृढीकरणलाई प्रदेश सरकारको नीति तथा कार्यक्रममा प्राथमिकताका साथ समेटिएको उल्लेख गरेका छन्।

नेपाल पत्रकार महासंघ गण्डकीले आयोजना गरेको मल्टिमिडिया रिपोर्टिङ तालिमका सहभागी पत्रकारहरूलाई शुभकामना व्यक्त गर्दै मन्त्रीले थापाले भने, ‘समय सान्दर्भिक र अत्यन्तै आवश्यक यो तालिम आयोजना गरेकोमा महासंघप्रति धन्यवाद व्यक्त गर्दछु।’

मन्त्री थापाले भने, ‘गण्डकी प्रदेश प्रेस रजिष्ट्रार कार्यालयलाई थप सुदृढ गर्दै अब प्रेस दर्ता, नवीकरण तथा प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण प्रक्रिया अनलाइन प्रणालीमार्फत सहज र पारदर्शी बनाउँदैछौं। यसले संचारमाध्यम तथा पत्रकारहरूलाई समयमै सेवा प्राप्त गर्ने वातावरण सुनिश्चित गर्नेछ।’

उनका अनुसार श्रमजीवी पत्रकारहरूको पेशागत क्षमता अभिवृद्धि गर्ने तथा संचार क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउने उद्देश्यले सरोकारवाला निकायहरूसँगको समन्वयमा नयाँ संचारसम्बन्धी कानुन निर्माण प्रक्रिया अगाडि बढाइएको छ।

‘यसले पत्रकारको हक, हित र सुरक्षालाई अझ मजबुत बनाउने विश्वास लिएको छु’, उनले स्पष्ट पारे।

पत्रकार लेखनवृत्ति कार्यक्रमलाई निरन्तरता दिँदै सरकारले अनुसन्धानमूलक, तथ्यमा आधारित तथा विकासमुखी पत्रकारितालाई प्रोत्साहन गरिरहेको पनि उनले बताए।

उनले उल्लेख गरे, ‘मल्टिमिडिया रिपोर्टिङजस्ता तालिमहरूले पत्रकारहरूको दक्षता, विषयवस्तुमा गहिरो पकड र प्रविधिमा पहुँचलाई विस्तार गर्छन्। आजको डिजिटल युगमा सूचनाको बहुआयामिक प्रस्तुति अपरिहार्य भइसकेको छ। र, यस्तो तालिमले त्यसलाई सशक्त बनाउँछ भन्नेमा म विश्वास गर्छु।’

उनले समाजप्रति उत्तरदायी, तथ्यमा आधारित र नागरिकलाई सशक्त पार्ने पत्रकारिता गर्न पत्रकारहरूलाई आग्रह गरेका छन्।

यसका लागि सरकार सधैं साथ र समर्थन दिन तयार रहेको मन्त्री थापाले बताए।

गण्डकी प्रदेशकी प्रेस रजिष्टार विमला भण्डारीले पे्रस रजिष्टारको कार्यालयले पत्रकारको हक, हित र अधिकारका लागि काम गर्ने उल्लेख गरिन्।

पत्रकारको क्षमता अभिवृद्धिका लागि विविध तालिमको व्यवस्था गरी दक्षता बढाउने कार्य गरिने उनको भनाई छ।

नेपाल पत्रकार महासंघ केन्द्रकी उपाध्यक्ष नीतु पण्डितले राज्यले श्रमजीवी पत्रकारको अधिकारलाई सुनिश्चित गर्ने कानुन ल्याउनुपर्नेमा जोड दिइन्।

जसका लागि पत्रकार महासंघ सदैव वकालत गरीरहने उनको भनाई छ।

पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेलले गण्डकी प्रदेश सरकारले आगामी बजेटमा प्रदेश सरकारले पत्रकारिता क्षेत्रलाई दिल फुकाएर सम्बोधन गर्नुपर्ने आवश्यकता औंल्याए।

उनका अनुसार यस्ता तालिमले आगामी समयमा पनि निरन्तरता पाउनेछ।

महासचिव जमुना वर्षा शर्माले तालिममा गण्डकीका ११ वटै जिल्लाका महिला पत्रकारहरुको उपस्थिति रहेको जनाइन्।

महिला पत्रकारलाई मात्र लक्षित गरी मल्टिमिडियासम्बन्धी तालिम दिइएको उनको भनाई छ।