
त्रिदेशीय टी–२० क्रिकेट श्रृंखलामा नेपालले नेदरल्यान्ड्सलाई छ विकेटले हराएको छ।
स्कटल्यान्डमा चलिरहेको श्रृंखला अन्तरर्गत नेदरल्यान्ड्सले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर ४ बलमा ४ विकेट गुमाएर भेट्टायो।
नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्बाधिक ६५ रन बनाए।
कुशल ११ औं अर्धशतक बनाउँदै नेपालबाट टी–२० अन्तर्राष्ट्रिय खेलमा सबैभन्दा धेरै अर्धशतक बनाउने खेलाडी बनेका छन्।
यस्तै, आरिफ शेखले ३९ र भीम सार्कीले २७ रन बनाए।
नेदरल्यान्ड्सका बेन फ्लेचर, आर्यन दत्त, ज्याक लिओन र रोएलफ भ्यान डेरले समान १/१ विकेट लिए।
त्यसअघि, ग्लास्गोमा टस हारेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७४ रन बनाएको थियो।
नेदरल्यान्ड्सका ओपनर माइकल लेभिटले सर्बाधिक ८६ रन बनाए।
यस्तै, रोएलफ भ्यान डेर ३६ र आर्यन दत्त १७ रनमा अविजित रहे।
नेपालका करण केसीले २ तथा ललितनारायण राजवंशी, दीपेन्द्रसिंह ऐरी, रुपेश सिंह र सन्दीप लामिछानेले समान १/१ विकेट लिए।
घरेलु टोली स्कटल्यान्ड, नेपाल र नेदरल्यान्ड्सबीच श्रृंखला भइरहेको हो।
श्रृंखलाको पहिलो खेलमा गएको आइतवार स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ३९ रनले हराएको थियो।
सोमवार भएको आफ्नो पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको थियो।
नेपालले आफ्नो दोस्रो खेलमा मंगलवार स्कटल्यान्डलाई २ विकेटले हरायो।
३ टोलीले डबल राउन्ड रोबिनमा एक–अर्कासँग प्रतिस्पर्धा गरेपछि सर्वाधिक अंक हुने टोली श्रृंखलाको विजेता बन्नेछ।
श्रृंखलामा नेपाल ३ खेलबाट ४ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ।
नेदरल्यान्ड्स ४ खेलबाट ४ अंकसहित दोश्रो स्थानमा छ।
स्कटल्यान्ड ३ खेलबाट २ अंकसहित तेश्रो स्थानमा छ।