
स्कटल्यान्डमा चलिरहेको त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टोलीलाई हराएको छ।
मंगलबार भएकोे खेलमा नेपालले स्कटल्यान्डलाई २ विकेटले हराएको हो।
स्कटल्यान्डले दिएको ९८ रनको लक्ष्य नेपालले १९ ओभर ५ बलमा ८ विकेटको क्षतिमा पूरा गर्यो।
नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ३० रन बनाए।
स्कटल्यान्डका माइकल लिस्क र सफियान सरिफले समान २/२ विकेट लिए।
त्यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्ड १९ ओभर ४ बलमा ९७ रनमा अलआउट भएको थियो।
स्कटल्यान्डका लागि माइकल लिस्कले ४४ रन बनाए।
नेपालका लागि सन्दिप लामिछानेले ४ तथा करण केसी र दीपेन्द्र सिंह ऐरीले समान २/२ विकेट लिए।
प्रतियोगितामा नेपालको यो पहिलो जीत हो।
जीतसँगै नेपाल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।
नेपाल, नेदरल्यान्ड्स र स्कटल्यान्ड तीनै टोलीको समान २/२ अंक छ।
स्कटल्यान्ड शीर्ष स्थानमा रहँदा नेदरल्यान्ड्स पुछारमा छ।
यसअघि, सोमवार भएको दोस्रो खेलमा नेपाल नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको थियो भने पहिलो खेलमा स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ३९ रनले पराजित गरेको थियो।
नेपालले आफ्नो तेस्रो खेल भोलि (बिहीबार) नेदरल्यान्ड्ससँग र चौथो तथा अन्तिम खेल पर्सि (शुक्रवार) घरेलु टोलीसँग खेल्नेछ।
तीन टोलीले डबल राउन्ड रोबिनमा एक अर्कासँग प्रतिस्पर्धा गरेपछि सर्वाधिक अंक हुने टोली श्रृंखलाको विजेता बन्नेछ।