एसीसी यु–१६ इस्ट जोन कप: नेपालको विजयी सुरुआत

सिंगापुरलाई ६ विकेटले हरायो, प्रसिद्ध जैसी ‘म्यान अफ दि म्याच’ घोषित

जनसम्मत
असार ८, २०८२, आइतबार

एसीसी १६ वर्षमुनिको इस्ट जोन कप प्रतियोगितामा नेपालले विजयी शुरुआत गरेको छ।

मलेशियामा आज (आइतबार) भएको खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले हरायो।

सिंगापुरले दिएको १३९ रनको लक्ष्य नेपालले ३३ ओभर ३ बलमा ४ विकेट गुमाएर भेट्टायो।

नेपालका प्रसिद्ध जैशीले सर्वाधिक ५५ रन बनाए।

रौनक श्रीवास्तवले ४० रन जोडे।

सिंगापुरका आकाश तेजाले ३ विकेट लिए।

यसअघि, टस जितेर पहिला ब्याटिङ गरेको सिंगापुर ३६ ओभर १ बलमा १३८ रनमा अलआउट भयो।

सिंगापुरका रिआन नैकले सर्वाधिक ५३ रन बनाए।

नेपालका कप्तान विपिनप्रसाद शर्माले ४ विकेट लिए।

त्यस्तै, सचिन भट्टले ३ विकेट लिए।

१६ वर्षमुनिको इस्ट जोन कपमा १० वटा टोली सहभागी छन्।

समूह ‘ए’ मा नेपालसहित सिंगापुर, इन्डोनेसिया, भूटान र जापान छन्।

यस्तै समूह ‘बी’ मा आयोजक मलेशियासहित हङकङ, माल्दिभ्स, थाइल्यान्ड र म्यानमार छन्।

नेपालले दोस्रो खेलमा पर्सि मंगलवार जापानसँग खेल्नेछ।

तेस्रो खेलमा असार १५ गते इन्डोनेसिया खेल्नेछ।

समूह चरणको अन्तिम खेलमा नेपालले असार १७ गते भूटानसँग खेल्नेछ।

समूहका विजेता र उपविजेता सेमिफाइनलमा पुग्नेछन्।

प्रतियोगिताको फाइनल खेल असार २१ गते हुनेछ।