न्यु–डायमण्ड बन्यो, नेकोस कप राष्ट्रिय महिला भलिबल च्याम्पियन

गण्डकी चौथो बन्यो, गण्डकीकी रिक्जना उदीयमान खेलाडी

जनसम्मत
असार ११, २०८२, बुधबार

न्यु–डायमण्ड, नेकोस कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ।

न्यु–डायमण्डले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई सोझो ३ सेटमा हराउँदै च्याम्पियन बनेको हो।

हेटौंडामा बुधबार भएको फाइनल खेलमा न्यु–डायमण्डले एपीएफमाथि २५–१२, २५–२३ र २५–१८ को सोझो सेटमा जित निकाल्यो।

च्याम्पियन बनेको न्यु–डायमण्डले उपाधिसहित नगद ५ लाख पुरस्कार जित्यो।

उपविजेता बनेको एपीएफ क्लबले रनर–अफ ट्रफीसहित ३ लाख पुरस्कार हात पार्‍यो।

प्रतियोगितामा गण्डकी प्रदेशले चौथो स्थान हासिल गर्‍यो।

तेस्रो स्थानमा लागि भएको खेलमा गण्डकी प्रदेश विभागीय नेपाल पुलिस क्लबसँग पराजित हुँदा चौथो स्थानमा रह्यो।

गण्डकी विभागीय पुलिससँग २३–२५, १८–२५ र १८–२५ ले पराजित हुन पुग्यो।

तेस्रो बनेको पुलिसले १ लाख प्राप्त गर्‍यो।

चौथो बनेको गण्डकीले नगद ५१ हजार रुपैयाँमा चित्त बुझायो।

 

न्यु–डाइमन्डकी सुमित्रा रेग्मी ‘बेस्ट प्लेयर’

 

प्रतियोगितामा विजेता न्यु–डाइमन्डकी सुमित्रा रेग्मी ‘बेस्ट प्लेयर’ बनिन्।

त्यस्तै, न्यु–डायमन्डकै सलिना श्रेष्ठ ‘उत्कृष्ट लिब्रो’ घोषित भइन्।
न्यु–डायमन्डकै प्रगतिनाथ ‘उत्कृष्ट सेटर’ बनिन्।

विभागीय एपीएफ क्लबकी निरुता ठगुन्ना ‘उत्कृष्ट स्पाइकर’ बनिन्।

एपीएफकै गरिमा बोहोरा ‘उत्कृष्ट ब्लकर’ बनिन्।

विभागीय पुलिस क्लबकी कोपिला राना ‘उत्कृष्ट सर्भर’ घोषित भइन्।

गण्डकीकी रिक्जना बोटे प्रतियोगिताकै ‘उदीयमान खेलाडी’ बनिन्।

नेपाल स्पोर्ट क्लबको आयोजनामा भएको प्रतियोगितामा ६ टोलीको प्रतिस्पर्धा थियो।