स्याङजा बन्यो, गण्डकी प्रदेशस्तरीय ‘म्याग्दी कप भलिबल’ च्याम्पियन

प्रतियोगितामा तनहुँ तेस्रो र बागलुङ चौथो बन्यो

जनसम्मत
असार ११, २०८२, बुधबार

स्याङजाको भलिबल टोली ‘ गण्डकी प्रदेशस्तरीय म्याग्दी कप पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ।

म्याग्दीको बेनीबजारस्थित खेल मैदानमा बुधबार सम्पन्न फाइनलमा घरेलु टोली म्याग्दीलाई ३–२ को प्रतिस्पर्धात्मक खेलमा हराउँदै स्याङजाले उपाधि जितेको हो।

घरेलु म्याग्दीको युवा टोलीले पाहुना टोली स्याङजालाई पहिलो सेट २५–१७ ले आफ्नो पक्षमा पारेपनि दोस्रो सेट १९–२५ ले गुमायो।

तेस्रो सेट झनै प्रतिस्पर्धात्मक बन्यो।

स्याङजा पुन: तेस्रो सेटमा कम ब्याक गर्दै म्याग्दीलाई २६–२४ ले हरायो।

तर, म्याग्दीको युवा टोली चौथो सेटमा पुनरगामन गर्दै २५–१६ ले खेल आफ्नो पक्षमा पार्न सफल बन्यो।

तर, अन्तिम सेटमा स्याङजाले घरेलु म्याग्दीको टिममाथि १७–१५ ले जित निकाल्दै उपाधि हात पार्न सफल बन्यो।

उपाधिसँगै स्याङजाले नगद २ लाख रुपैयाँ पुरस्कार हात पारेको छ।

त्यस्तै उपविजेता म्याग्दीले नगद १ लाख रुपैयाँ हात पारेको छ।

प्रतियोगितामा तनहुँ जिल्लाले तेस्रो स्थान प्राप्त गरेको छ।

तेस्रो स्थानका लागि भएको खेलमा तनहुँले बाग्लुङलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो।

तेस्रो बनेको तनहुँले नगद ५० हजार र चौथो बनेको बाग्लुङले नगद २५ हजार पुरस्कार हात पारेको छ।

म्याग्दी जिल्ला भलिबल संघको आयोजनामा सम्पन्न प्रतियोगितामा गण्डकी प्रदेशअन्तर्गत ८ जिल्लाको भलिबल टोलीले प्रतिस्पर्धा गरेको थियो।