अन्तिम खेलमा भारत र दक्षिण अफ्रिकाको जित

आइसीसी एक दिवसीय विश्वकप क्रिकेट

एजेन्सी
असार २३, २०७६, सोमबार

एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत शनिबार राति सम्पन्न समूह चरणको अन्तिम खेलमा भारत र दक्षिण अफ्रिकाले जित निकाल्यो ।

भारतले श्रीलंकालाई ७ विकेटले र दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई १० रनले हरायो । भारत शीर्ष स्थानमा रहँदै सेमीफाइनल पुग्यो । अस्ट्रेलिया दोस्रो हुँदै सेमीफाइनल पुग्न सफल रह्यो भने दक्षिण अफ्रिका समूह चरणबाटै बाहिरियो ।

समूह चरणको अन्तिम खेलमा भारतले श्रीलंकालाई ७ विकेटले पराजित ग¥यो । २ सय ६५ रनको लक्ष्य पछ्याएको भारतले ४३ दशमलव ३ ओभरमा ३ विकेटको क्षतिमा पूरा ग¥यो । भारतका लागि ओपनर रोहित शर्मा र केएल राहुलले शतक प्रहार गरे ।

भारतको जितमा रोहितले ९४ बलमा १४ चौका र २ छक्कासहित १ सय ३ रनको योगदान दिए । योसँगै उनले आफ्नो वान डे करिअरको २७ औं शतक पूरा गरे । रोहितले अर्काे कीर्तिमान राख्दै एकै विश्वकपमा ५ शतक पूरा गर्ने उनी पहिलो ब्याट्सम्यान बने ।

अर्का ओपनर के एल राहुलले पनि १ सय १८ बलमा ११ चौका र १ छक्कासहित १ सय ११ रनको उत्कृष्ट शतक प्रहार गरे । राहुलले १ सय ९ बलमा आफ्नो विश्वकपको पहिलो तथा वान डे करियरको दोस्रो शतक पूरा गरे ।

कप्तान विराट कोहली ३४ रनमा अविजित रहँदा ऋषभ पन्त ४ र हार्दिक पान्डेय ७ रनमा आउट भए । श्रीलंकाका लागि लाथिस मलिंगा, इसुरु उडना र कसुन राजिथाले समान १ विकेट लिए ।

त्यसअघि, टस जितेर ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ६४ रन बनाएको थियो । जसका लागि

एन्जिलो म्याथ्युजले १ सय १३ रनको शतकीय योगदान दिए । म्याथ्युजले १ सय १५ बलमा आफ्नो वान डे करिअरको तेस्रो शतक पूरा गरे । उनले वान डे करिअरमा तीनै शतक भारतविरुद्ध प्रहार गरेका हुन् । भारतका लागि जसप्रित बुमराहले ३, भुवनेश्वर कुमार, हार्दिक पान्डेय, रवीन्द्र जडेजा र कुलदीप यादवले समान १ विकेट लिए ।

शनिबार राति नै भएको अर्काे खेलका दक्षिण अफ्रिकासँग अष्ट्रेलिया पराजित भएको छ । योसँगै भारतको शीर्ष स्थान कायम रहेको छ ।

अष्ट्रेलियालाई दक्षिण अफ्रिकाले ३ सय २५ रनको लक्ष्य दिएको थियो । सो लक्ष्य पछ्याएको अष्ट्रेलिया ४९ दशमलव ५ ओभरमा अल आउट हुँदै ३ सय १५ रनमा समेटियो ।