एसीसी यु–१६ इस्ट जोन कप: नेपालको लगातार तेस्रो जीत

नेपालले इन्डोनेसियालाई ३७० फरक रनअन्तरले हरायो

जनसम्मत
असार १५, २०८२, आइतबार

एसीसी १६ वर्षमुनिको इस्ट जोन कप प्रतियोगितामा नेपालले लगातार तेस्रो जीत निकालेको छ।

मलेशियाको सेलाङगोर टर्फ क्लबमा नेपालले इन्डोनेसियालाई ३७० रनले हराएको हो।

नेपालले दिएको ४२१ रनको लक्ष्य पछ्याएको इन्डोनेसिया २४ ओभर ३ बलमा ५० रनमै अलआउट भयो।

इन्डोनेसियाका कभिन नीरज चड्डाले सर्बाधिक १५ रन बनाए।

नेपालका कप्तान विपिनप्रसाद शर्माले ६ विकेट लिए।

यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ५ विकेट गुमाएर ४२० रन बनायो।

नेपालका प्रसिद्ध जैशीले शतक बनाए।

प्रसिद्ध ११४ बलमा १३२ रन बनाएर आउट भए।

यस्तै, रौनक श्रीवास्तवले ८८ रन जोडे।

परिमार्जन यादवले ७१ रन थपे।

जोय थापाले ५७ रन बनाए।

इन्डोनेसियाका केतुत दर्मा पुत्राले २ विकेट लिए।

यो नेपालको उमेर समूहदेखि राष्ट्रिय टोलीले ५० ओभरको खेलमा बनाएको सबैभन्दा धेरै रन हो।

यो जीतसँगै नेपाल लगातार तेस्रो जीतसहित समूहको शीर्ष स्थानमा उक्लिएको छ।

नेपालले पहिलो खेलमा सिंगापुरलाई ६ विकेट हराएको थियो।

त्यस्तै, दोस्रो खेलमा जापानलाई ९ विकेटले हराएको थियो।

अब नेपालले समूह चरणको अन्तिम खेलमा पर्सि (मंगलबार) भूटानसँग खेल्नेछ।

१६ वर्षमुनिको इस्ट जोन कपमा १० वटा टोली सहभागी छन्।

समूह ‘ए’ मा नेपालसहित सिंगापुर, इन्डोनेसिया, भूटान र जापान छन्।

यस्तै, समूह ‘बी’ मा आयोजक मलेशियासहित हङकङ, माल्दिभ्स, थाइल्यान्ड र म्यानमार छन्।

समूहका विजेता र उपविजेता सेमिफाइनलमा पुग्नेछन्।

प्रतियोगिताको फाइनल खेल असार २१ गते (शनिवार) हुनेछ।