
नेपालले एएफसी महिला एशियन कप–२०२६ को छनोटअन्तर्गतको प्रतियोगितामा विजयी सुरुवात गरेको छ।
नेपालले आफ्नो पहिलो खेलमा नेपालले लाओलाई ९–० को गोलअन्तरले हराउँदै विजयी सुरुवात गरेको हो।
नेपालको जीतमा कप्तान सावित्रा भण्डारी ‘साम्बा’ ले ह्याट्रिकसहित ४ गोल गरिन्।
यस्तै, अनिता बस्नेत, सरु लिम्बु, अनिता केसी र रश्मीकुमारी घिसिङले १/१ गोल गरे। नेपालले १ गोल आत्मघाती उपहार पायो।
उज्वेकिस्तानको तास्केन्तस्थित बुनयोदकोर रंगशालामा भएको खेलमा अनिताले सुरुवाती गोल गरिन्।
अनिताले १२ औं मिनेटमा नेपालका लागि पहिलो गोल गरिन्।
त्यस्तै, पहिलो हाफको इञ्जूरी समयमा कप्तान सावित्रा ‘साम्बा’ ले दोस्रो गोल गरिन्।
महिला फुटबलमा नेपालले लाओससँग पहिलो पटक खेलेको हो।
लाओससँगको खेलसँगै ४ दशकमा नेपाली महिला फुटबल टोलीले १०० औं अन्तर्राष्ट्रिय खेल पूरा गरेको छ।
नेपालसहित समूह ‘एफ’ मा आयोजक उज्वेकिस्तान, लाओस र श्रीलंका छ।
नेपालले अब छनोटको आफ्नो दोश्रो खेल असार १८ गते (जुलाई २) मा श्रीलंका र तेश्रो खेल असार २१ गते (जुलाई ५) मा घरेलु टोली उज्वेकिस्तानसँग खेल्नेछ।
पछिल्लो फिफा वरियतामा नेपाल १०० औं स्थानमा छ।
त्यस्तै, लाओस १०७ औं स्थानमा छ।
उज्वेकिस्तान हाल फिफा वरियतामा नेपालभन्दा ४९ स्थानमाथि ५१ औं स्थानमा रहेको छ।
यस्तै, श्रीलंका १५९ औं स्थानमा छ।
यस छनोटमा नेपालको सबैभन्दा अब्बल प्रतीद्वन्दीको रुपमा घरेलु टोली उज्वेकिस्तानलाई हेरिएको छ।
यस छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै समूह विजेता बन्नसके नेपालले २०२६ को मार्चमा अष्ट्रेलियामा आयोजना हुने एएफसी महिला एसियन कपमा
आफ्नो स्थान सुरक्षित गर्नेछ।
एसियन कपमा कुल १२ टोली सहभागी हुनेछन्।
जसमा आयोजक अष्ट्रेलिया, चीन, जापान र दक्षिण कोरिया पहिले नै छनौट भइसकेका छन्।