
‘सूचनाको हक’का लागि गण्डकी प्रदेश समिति गठन गरिएको छ।
गण्डकी प्रदेशभित्रका सूचनाको हकका अभियान्ताहरूको भेलाले ‘सूचनाको हकका लागि राष्ट्रिय महासंघ’को गण्डकी प्रदेश समिति गठन गरेको हो।
समितिको अध्यक्षमा पोखराका अग्रज पत्रकार राजबहादुर गुरुङ चयन भएका छन्।
भेलाले गठन गरेको नयाँ कार्यसमितिमा उपाध्यक्षमा नारायण शर्मा, महिला उपाध्यक्षमा गीता आचार्य, महासचिवमा भरत कोइराला, सचिवमा कृष्ण क्षत्री, महिला सचिवमा माया अधिकारी, र कोषाध्यक्षमा टिका आचार्य छन्।
त्यस्तै, सदस्यहरूमा गीता लामिछाने बिष्ट, रोशन लामिछाने, शंकरराज नहर्की, बिराज त्रिपाठी, सुभाष पौडेल, सुशिला रोका, शिवप्रसाद गौतम र मिला दराई छन्।
नवनिर्वाचित समितिको पहिलो बैठकले गंगाधर पराजुली, पुण्य पौडेल र ओमप्रकाश शर्मालाई महासंघको गण्डकी प्रदेश समितिको सल्लाहकारमा मनोनयन गर्ने निर्णय गरेको छ।
समिति चयन प्रक्रिया गंगाधर पराजुली, नारायण कार्की, पुण्य पौडेल, ओमप्रकाश शर्मा र शिवप्रसाद बस्ताकोटी रहेको निर्वाचन सहजीकरण समितिको संयोजनमा सम्पन्न भएको थियो।
कार्यक्रममा महासंघका राष्ट्रिय अध्यक्ष उमिद वागचन, वरिष्ठ उपाध्यक्ष ताराबहादुर भण्डारी, महासचिव पूर्णप्रसाद मिश्र, तथा केन्द्रीय पदाधिकारीहरूको उपस्थिति थियो।
सूचनाको हकको प्रवद्र्धन, अभ्यास र संरक्षणका लागि राष्ट्रियस्तरमा गठित महासंघको गण्डकी प्रदेश समिति आगामी दिनमा प्रदेशभित्र जनचेतना अभिवृद्धि, नागरिक सशक्तिकरण तथा सरकारी निकायहरूमा पारदर्शिता प्रवद्र्धनमा क्रियाशील हुने अपेक्षा गरिएको छ।