
एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार चौथो खेलमा जीत निकालेको छ।
मलेसियाको सेलाङ्गोर टर्फ क्लब क्रिकेट मैदानमा आज (मंगलबार) भएको समूह ‘ए’ को अन्तिम खेलमा नेपालले भुटानलाई २९८ रनले हरायो।
नेपालले दिएको ३५९ रनको लक्ष्य पछ्याएको भुटानले ३२ ओभर ४ बलमा ९ विकेट गुमाएर ६० रन बनायो।
भुटानका अन्तिम ब्याटर क्रिजमा आएनन्।
भुटानका शेजाङ दावाले सर्बाधिक १४ रन बनाए।
नेपालका कप्तान विपिनप्रसाद शर्माले ४ विकेट लिए।
सुयोग भट्टराई र सचिन भट्टले २/२ विकेट लिए।
यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा ५ विकेट गुमाएर ३५८ रन बनाएको थियो।
नेपालका रौनक श्रीवास्तवले शतक बनाए।
श्रीवास्तव १ सय ३२ बलमा कीर्तिमानी १६८ रन बनाएर आउट भए।
कुनैपनि उमेर समूहको अन्तर्राष्ट्रिय प्रतियोगितमा नेपाली खेलाडीले बनाएको यो उच्च व्यक्तिगत रन हो।
यसअघि, यो कीर्तिमान अर्जुन कुमालको नाममा थियो।
अर्जुनले एसीसी १९ वर्षमुनिको प्रिमियर कपमा साउदी अरेबियासँगको खेलमा १४२ रन बनाएका थिए।
यस्तै, जोय थापाले नटआउट ६१ रन जोडे।
शिवांश बजगाइँले ५४ रन थपे।
भुटानका साङ्गे दोर्जीले ३ विकेट लिए।
नेपाल समूह चरणका सबै खेल जितेर सेमिफाइनलमा पुगेको छ।
नेपालले पहिलो खेलमा सिंगापुरलाई ६ विकेटले हराएको थियो।
त्यसैगरी, दोस्रो खेलमा जापानलाई ९ विकेटले हराएको थियो।
त्यस्तै, तेस्रो खेलमा इन्डोनेसियालाई ३७० को फराकिलो रनअन्तरले हराएको थियो।
यो समूहबाट सिंगापुर दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेको छ।
यस्तै समूह ‘बी’ बाट हङकङ शीर्ष स्थान र मलेसिया दोस्रो स्थानमा रहेर सेमिफाइनलमा पुगेका छन्।
अब, सेमिफाइनलमा नेपालले मलेसियासँग खेल्नेछ।
त्यस्तै, हङकङले सिंगापुरसँग सेमिफाइनल खेल्नेछ।
१६ वर्षमुनिको इस्ट जोन कपको सेमिफाइनल खेल पर्सि (बिहीवार) हुनेछ।
यस्तै, फाइनल खेल आउँदो शनिवार हुनेछ।