
घरेलु टोली मलेसियालाई हराउँदै नेपाल एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ।
क्वालालम्पुरमा आज (विहीबार) भएको पहिलो सेमिफाइनलमा नेपालले मलेसियालाई ९ विकेटले हरायो।
मलेसियाले दिएको ९१ रनको लक्ष्य नेपालले ११ ओभर ४ बलमा १ विकेट गुमाएर भेट्टायो।
नेपालका परिमार्जन यादवले नटआउट सर्वाधिक ५९ रन बनाए।
मलेशियाका नागिनेश्वरन सत्नकुमारनले १ विकेट लिए।
यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको मलेशिया ४३ ओभर १ बलमा ९० रनमा अलआउट बन्यो।
मलेसियाका मुहम्मद फतुल मुइनले सर्वाधिक ३८ रन बनाए।
नेपालका अभय यादवले ४ विकेट लिए।
शुभम् खनालले ३ विकेट लिए।
नेपाल समूह ‘ए’ मा सबै खेल जितेर सेमिफइनलमा पुगेको हो।
नेपालले पहिलो खेलमा सिंगापुरलाई ६ विकेटले हराएको थियो।
त्यस्तै, दोस्रो खेलमा नेपालले जापानलाई ९ विकेटले हराएको थियो।
त्यसैगरी, तेस्रो खेलमा इन्डोनेसियालाई ३७० को फरक रनअन्तरले हराएको थियो।
यो समूहबाट सिंगापुर दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेको छ।
यस्तै समूह ‘बी’ बाट हङकङ शीर्ष स्थानमा रह्यो।
मलेसिया दोस्रो स्थानमा रहेर सेमिफाइनलमा पुगेको थियो।
१६ वर्षमुनिको इस्ट जोन कपको फाइनल खेल पर्सि (शनिवार) हुनेछ।
तस्बीर: क्यान