नेपालले जित्यो एसीसी यु–१६ इस्ट जोन कप क्रिकेटको उपाधि

फाइनलमा नेपालले सिंगापुरलाई २ विकेटले हरायो

जनसम्मत
असार २१, २०८२, शनिबार

नेपालले एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेटको उपाधि जितेको छ।

प्रतियोगितामा नेपाल अपराजित रहँदै विजेता बनेको हो।

मलेशियाको बाङ्गीमा भएको फाइनलमा सिंगापुरलाई २ विकेटले हरायो।

सिंगापुरले दिएको ११४ रनको लक्ष्य नेपालले २९ ओभरमा ८ विकेट गुमाएर भेट्टायो।

नेपालका जोए थापाले नटआउट सर्वाधिक २४ रन बनाए।

सिंगापुरका कपिश वेन्कटरमनले सर्वाधिक ४ विकेट लिए।

नेपालले ५८ रनमा ५ विकेट गुमाएको अवस्थामा जोए थापा र शुभम् खनालले छैटौं विकेटका लागि ३३ रनको साझेदारी गरे।

यस्तै, नेपालले ९२ रन बनाउँदा ८ विकेट गुमाएको अवस्थमा जोए थापा र अभय यादवले नवौं विकेटका लागि नटआउट २५ रनको साझेदारी गरे।

यसअघि, टस जितेर ब्याटिङ गरेको सिंगापुर ४० ओभर ५ बलमा ११३ रन बनाउँदा अलआउट बन्यो।

सिंगापुरका रोहन अस्टिन अरुणले सर्वाधिक २३ रन बनाए।

नेपालका सुशीलबहादुर रावल र अभय यादवले समान ३/३ विकेट लिए।

यस्तै, शुभम् खनालले २ विकेट लिए।

कप्तान विपिनप्रसाद शर्माले १ विकेट लिए।

सेमिफाइनलमा नेपालले मलेशियालाई र सिंगापुरले हङकङलाई हराउँदै फाइनल खेलेको हो।

नेपाल १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेटको साविक विजेता टोलीसमेत हो।

यस्तै, हङकङलाई ५ विकेटले हराउँदै आयोजक मलेशिया प्रतियोगितामा तेस्रो भएको छ।