फोनिज कास्कीमा ‘भाषा, कला र संस्कृति संरक्षणमा पत्रकारिताको भूमिका’ बिषयक गोष्ठी

तमु धिंका केन्द्रीय महासचिव एवं अधिवक्ता जुनाकुमारी गुरुङद्वारा ‘भाषा, कला र संस्कृति संरक्षणमा पत्रकारिताको भूमिका’ बारे प्रशिक्षण प्रदान

जनसम्मत
असार २०, २०८२, शुक्रबार

पोखरामा ‘भाषा, कला र संस्कृति संरक्षणमा पत्रकारिताको भूमिका’ बिषयक गोष्ठी गरिएको छ।

नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्की शाखाको आयोजनामा बिहिबार पोखरामा गोष्ठी गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिनाले आदिबासी जनजातिहरुको भाषा, कला र संस्कृति संरक्षण अभियानका लागि पोखरा महानगरको सधैँ तत्पर रहेको बताए।

पोखरा महानगरपालिका वडा नं २५ का वडा अध्यक्षसमेत रहेका तिम्सिनाले फोनिजकर्मी पत्रकारहरु र विभिन्न आदिबासी संघसंस्थाको बृहतरको लागि महानगरले सधै सहकार्य र सहयोग गर्ने प्रतिबद्धता जनाए।

फोनिज कास्कीका सल्लाहकार एवं तमु धिं नेपालका अध्यक्ष हुम गुरुङले भाषा, कला र संस्कृतिको संरक्षणमा स्थानीय तहदेखि राज्य संयन्त्र सबैको भूमिका महत्वपूर्ण रहेको बताए।

मातृभाषाको संरक्षण, कलाको सम्मान र संस्कृतिको जर्गेनामा एकताको खाँचो रहेको उनले औंल्याए।

कार्यक्रममा पोखरा महानगरपालिका सचिवालय प्रमुख पूर्ण हेल्मो, नेपाल आदिबासी जनजाति गण्डकी प्रदेश समन्वय समितिका प्रतिनिधि तथा कुमाल समाज कास्कीका अध्यक्ष चेतबहादुर कुमाल, तमु धिं नेपाल केन्द्रीय सदस्य तथा भाषा संस्कृति संयोजक कृष्णकुमार गुरुङलगायतले बोलेका थिए।

तमु धिंका केन्द्रीय महासचिव एवं अधिवक्ता जुनाकुमारी गुरुङद्वारा ‘भाषा, कला र संस्कृति संरक्षणमा पत्रकारिताको भूमिका’ बारे प्रशिक्षण दिएकी थिइन्।

नेपाल आदिबासी जनजाति पत्रकार महासंघ फोनिज कास्कीका अध्यक्ष विनाकुमारी थापाको अध्यक्षतामा भएको गोष्ठिमा उपाध्यक्ष सुशील श्रेष्ठले स्वागत र सचिव देविका तामाङले कार्यक्रम संचालन गरेकी थिइन्।