
नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन कप–२०२६ छनोटको समूह चरणबाटै बाहिरिएको छ।
निर्णायक खेलमा उज्बेकिस्तानसँग टाइब्रेकरमा ४–२ को हार ब्यहोर्दै नेपाल समूह चरणबाटै बाहिरिएको हो।
समूह ‘एफ’ अन्तर्गतको अन्तिम खेलमा निर्धारित ९० मिनेटको खेल ३–३ को रोमाञ्चक बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरमार्फत गरिएको थियो।
नेपालका लागि टाइब्रेकरमा गीता राना र सबिता रानामगरले गोल गरे।
तर, कप्तान सावित्रा भण्डारी ‘साम्बा’ र गोलकीपर अञ्जना रानामगरको प्रहार असफल भएपछि नेपाल पराजित बन्यो।
खेलको सुरुवातमै उज्बेकिस्तानले आक्रामक प्रदर्शन गर्दै दोस्रो मिनेटमै पहिलो गोल गर्यो।
त्यसपछि, ११ औं मिनेटमा उज्बेकिस्तानले आत्मघाती गोलको मद्दतले अग्रता दोब्बर बनायो।
उज्बेक कप्तानको प्रहार डिफेन्डर समीक्षा घिमिरेको खुट्टामा लाग्दै गोलमा परिणत भएको थियो।
नेपालका लागि २४ औं मिनेटमा सावित्रा भण्डारी ‘साम्बा’ ले गोल गरिन्।
डी–बक्स बाहिरबाट उनले गरेको शक्तिशाली प्रहार जाली चुम्दा स्कोर २–१ भएको थियो।
तर, ३८ औं मिनेटमा उज्बेकिस्तानले पेनाल्टी पायो।
जब, नेपाली डिफेन्डर सरस्वती हमालले ह्याण्ड गरिन्।
सो अवसरमा शोएमोभले गोल गर्दै उज्बेकको अग्रता पुन: फराकिलो बनाइन्।
दोस्रो हाफमा १० खेलाडीमा सीमित उज्बेकिस्तानविरुद्ध नेपालले पुनरागमन गर्यो।
उज्बेक खेलाडी इग्रासेभाले हाफको अन्त्यतिर सावित्रामाथि खराब ट्याकल गरेपछि रातो कार्ड पाउँदै मैदानबाट बाहिरिइन्।
७१ औं मिनेटमा कप्तान साम्बाले व्यक्तिगत दोस्रो गोल गर्दै स्कोर ३–२ मा छोट्याइन्।
त्यसको २ मिनेटपछि नै उनले ह्याट्रिक पूरा गर्दै खेललाई ३–३ को बराबरीमा ल्याइन्।
नेपालका लागि एतिहासिक पुनरागमनको संभावना देखिएपनि टाइब्रेकरमा त्यो सपना अधुरै रह्यो।