विलिङ्टन अर्वान अल्ट्रा म्याराथन टोलीको विदाई

टोलीमा ब्यवस्थापक तथा प्रशिक्षक भैरव शाही, खेलाडीहरुमा मनिष जोशी, दिपेन्द्रकुमार गोइत, जयराम खड्का, र गोविन्द श्रेष्ठ छन्

जनसम्मत
असार २३, २०७६, सोमबार

पोखरा । मित्र राष्ट्र न्यूजिल्याण्डमा आयोजना हुने विलिङ्टन अर्वान अल्ट्रा म्याराथनमा सहभागी हुन जाने नेपाली टोलीलाई आइतबार विदाई गरिएको छ ।

जिल्ला समन्वय समिति, काठमाडौंका प्रमुख शिव सुन्दरराज बैद्यले एक कार्यक्रमबीच टोलीलाई बिदाई गरेका हुन् ।

असारको २८ र २९ गते हुने उक्त म्याराथनमा सहभागी हुन जाने पाँच सदस्यीय टोलीमा ब्यवस्थापक तथा प्रशिक्षक भैरव शाही, खेलाडीहरुमा मनिष जोशी, दिपेन्द्रकुमार गोइत, जयराम खड्का, र गोविन्द श्रेष्ठ छन् ।

नेपाली भेट्रान्स टोलीले विगतमा सफलताको शिखर चुमिसकेका छन् । जापानमा भएको एशियाली भेट्रान म्यारथनमा धर्मराज महर्जनले १० हजार मिटरमा कास्य पदक प्राप्त गरेका थिए ।

यस्तै, ताइवानमा भएको एशियन च्याम्पियनसीपको ४५ बर्ष उमेर समूहमा १० हजार मिटर दौडमा धर्मराजले कास्य जितेका थिए । भारतको बेङलोरमा भएको एशियन प्रतियोगितामा कुर्सिद अहमद खानले ज्याभ्लिन थ्रोमा कास्य र रामकृष्ण महर्जनले रोड रेसमा स्वर्ण हात पारेका छन् ।