
गण्डकी कप महिला राष्ट्रिय बास्केटबलमा बाग्मती प्रदेश च्याम्पियन बनेको छ।
गण्डकी प्रदेश बास्केटबल संघद्वारा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा पहिलो पटक आयोजित सो प्रतियोगितामा घरेलु टोली गण्डकीलाई पराजित गर्दै बागमती च्याम्पियन बनेको हो।
फाइनल खेलमा बागमतीले गण्डकीलाई ५५–३४ ले पराजित गरी च्याम्पियन बन्न सफल भएको हो।
यद्यपी, लिगको दोस्रो खेलमा भने बागमती गण्डकीसँग २४–१७ ले पराजित भएको थियो।
लिगमा पराजयको सामना गरेको बागमतीले फाइनलमा भने गण्डकीलाई पराजित गरी लिगमा आफ्नो हारको बदला मात्रै लिएन च्याम्पियन समेत बन्यो।
च्याम्पियन भएसँगै बाग्मतीले नगद ७५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र पुरस्कार हात पार्यो।
उपविजेता गण्डकीले नगद ५० हजार रुपैयाँका साथमा मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ।
प्रतियोगितामा बाग्मतीकी मिना गुरूङ ‘मष्ट भेलुएबल प्लेयर’ घोषित भइन्।
उनले ट्रफी र प्रमाणपत्र हात पारिन्।
त्यस्तै, प्रतियोगिताका २ सेमीफाइनालिष्ट टिम कर्णाली र कोशी प्रदेशले जनही नगद १०/१० हजार प्राप्त गरेका छन्।
प्रतियोगितामा बिजेता खेलाडीहरुलाई गण्डकी प्रदेश सभाका सदस्य प्रकाश बराल, प्रदेश खेलकुद परिषदका सदस्य सचिब श्रीधर शर्मा, संघका सल्लाहकार एवं नेपाल बास्केटबल संघका उपाध्यक्ष जुमप्रसाद गुरूङ, सल्लाहकार नारायणप्रसाद शर्मा, सुनिल गुरूङलगायतले पुरस्कार वितरण गरे।