
स्याङजा जिल्लाले दोस्रो पटक गण्डकी प्रदेश टी–२० महिला क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।
प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा शनिबार भएको फाइनलमा कास्की जिल्लालाई ७ विकेटले हराउँदै स्याङ्जाले लगातार दोस्रो पटक यो उपाधि चुमेको हो।
उपाधिसँगै स्याङजाले नगद १ लाख रुपैया पुरस्कार जित्यो।
उपविजेता कास्कीले ५० हजार रुपैयाँ प्राप्त गरेको छ।
५७ रनको विजयी लक्ष्य पाएको स्याङजाले १० दशमलव ३ ओभरमा ३ विकेट गुमाउँदै ६० रनका साथ लक्ष्य पुरा गर्यो।
स्याङजाका लागि सीमाना केसीले सर्वाधिक १७ रनको अविजित पारी खेलिन्।
त्यस्तै, कुशुम गोदारले अविजित ११ रन जोडिन्।
उनले १३ बलमा १ चौका प्रहार गरिन्।
सलिना सेन र ज्योत्सनिका मरासिनी ६ रनमा आउट भए।
ओपनर श्रेया शाहले ५ रन थपिन्।
कास्कीका लागि रचना चौधरी र यशोदा भुजेलले समान १/१ विकेट लिए।
यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको कास्कीले १६ ओभरमा अलआउट हुँदै ५६ रनमात्रै जोड्न सफल भयो।
कास्कीका लागि रेखा तामाङले सर्वाधिक २४ रन बनाइन्।
रचना चौधरीले १४ बाहेक अन्य ब्याटरले दोहोरो रन बनाउन सकेनन्।
रेखाले २८ बलमा २ चौका र १ छक्कासहित १४ रन जोडिन्।
रचनाले २५ बलमा २ चौकासहित ८ रन बनाइन्।
ओपनर सिर्जना पौडेल ५ रन बनाइन्।
स्याङ्जाका लागि अपेक्षा बुढाथोकीले ३ ओभरमा ६ रन खर्चेर सर्वाधिक ४ विकेट लिइन्।
सीमाना केसीले ४ ओभरमा १३ रन खर्चेर ३ विकेट लिइन्।
स्याङजाकी सीमाना केसी ‘सर्वोत्कृष्ट खेलाडी’ घोषित भइन्।
सीमाना, खेलको ‘वुमन अफ दी म्याच’ सँगै ‘उत्कृष्ट बलर’ समेत घोषित भइन्।
कास्कीका सिर्जना पौडेल ‘उत्कृष्ट ब्याटर’ बनिन्।
सोनिमा पुनमगर ‘उदीयमान खेलाडी’ घोषित भइन्।
४ दिनसम्म चलेको प्रतियोगितामा स्याङ्जा, कास्की, नवलपुर र पर्वतको महिला टोलीले प्रतिस्पर्धा गरेको थियो।