खेल पत्रकारलाई खेलकुदसम्बन्धी तालिम

भलिबल, आइटीओ एथ्लेटिक्स र क्रिकेटसम्बन्धी तालिम दिइएको हो

जनसम्मत
असार २०, २०८२, शुक्रबार

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी आयोजनामा पोखरामा शुक्रबार खेल पत्रकारलाई क्षमता अभिवृद्धि तालिम दिइएको छ।

संचार तथा सूचना प्रविधि मन्त्रालयको आर्थिक सहयोगमा भएको तालिममा भलिबल, एथ्लेटिक्स र क्रिकेट खेलबारे प्रशिक्षण दिइएको हो।

तालिममा खेलका नियम बुझाउँदै पत्रकारले समाचार लेख्दा बुझ्नुपर्ने विषयका बारेमा समेत प्रशिक्षित गराइएको हो।

भलिबलसम्बन्धी राजन पौडेल, आइटीओ एथ्लेटिक्ससम्बन्धी सिद्धान्त अधिकारी र क्रिकेटसम्बन्धी रिजन प्रजुले प्रशिक्षण दिए।

प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष धोजकुमार गुरुङले तालिम उद्घाटन गर्दै खेल क्षेत्रका विभिन्न समस्या समाधानमा सरकारसमक्ष पुर्‍याउन पत्रकारले खेल क्षेत्र र यसका नीति नियम बुझ्न आवश्यक रहेको औंल्याए।

साथै खेल र खेलाडीबारे प्रकाशित सकारात्मक समाचारले खेल संघ तथा खेलाडीलाई प्रोत्साहन मिलेको समेत गुरुङको भनाइ थियो।

मञ्च अध्यक्ष एमबी आस्थामगरले तालिमको उद्देश्यबारे जानकारी दिँदै यसको आवश्यकता र महत्व विषयमा प्रकाश पारे।

कार्यक्रममा प्रेस काउन्सिल नेपाल सदस्य केशवशरण लामिछाने, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष माधव बराललगायतले शुभकामना मन्तव्य राखेका थिए।

मञ्चका उपाध्यक्ष राजाराम पौडेलले स्वागत र महासचिव परशुराम शर्माले कार्यक्रम संचालन गरेका थिए।