यु–२० साफ महिला च्याम्पियनसीप: अन्तिम सेकेन्डमा नेपाल बंगलादेशसँग स्तब्ध

अब, नेपालले मंगलबार श्रीलंकासँग खेल्नेछ

जनसम्मत
असार २९, २०८२, आइतबार

साफ महिला यु–२० च्याम्पियनसीपमा नेपाल घरेलु बंगलादेशसंग पराजित भएको छ।

बंगलादेशमा जारी च्याम्पियनसीपअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल अन्तिम मिनेटमा सम्हालिन नसक्दा घरेलु टोलीसँग ३–२ ले पराजित हुनुपर्‍यो।

बंगलादेशकी श्रीमोती सरकारले इन्जुरी समयको अन्तिम सेकेन्डमा गोल गरेसँगै नेपाल घरेलु टोलीसँग स्तब्ध बन्यो।

बंगलादेशका लागि श्रीमोती सरकारसँगै सिन्हा शिखा र रागोरिकाले गोल गरे।

यता, नेपालका लागि अनिशा राई र मीना देउवाले गोल गरे।

सिन्हा शिखाले १४ औं मिनेटमा गोल गर्दै बंगलादेशलाई पहिलो अग्रता दिलाएकी थिइन्।

खेलको ३६ औं मिनेटमा सागोरिकाले गोल गर्दै अग्रता दोब्बर बनाइन्।

खेलको ७७ औं मिनेटमा पेनाल्टीमार्फत नेपालकी अनिशा राईले गोल गर्दै अग्रता घटाइन् ।

८६ औं मिनेटमा मीना देउवाले गोल गर्दै नेपाललाई बराबरीमा ल्याइन्।

२–० ले पछि परेको नेपाल खेलमा फर्किएपनि इन्जुरी समयको अन्तिममा सम्हालिन सकेन।

इन्जुरी समयको अन्तिम मिनेटमा श्रीमोती सरकारले गोल गर्दै बंगलादेशलाई जितको बाटो देखाइन्।

डबल राउन्ड रोबिनमा हुने च्याम्पियनशिपमा चार देशको सहभागिता रहेको छ।

च्याम्पियनसीप अन्तर्गत पहिलो खेलमा नेपालले भुटानलाई ६–१ गोल अन्तरले पराजित गरेको थियो।

अब, नेपालले मंगलबार श्रीलंकासँग खेल्नेछ।

बंगलादेशले श्रीलंकालाई ९–१ ले हराएको थियो।