
नेपाल प्रेस काउन्सिलले चिनियाँ पत्रकार टोलीसँग छलफल गरेको छ।
प्रेस काउन्सिल नेपालले नेपाल भ्रमणमा रहेका चिनियाँ पत्रकारसहितको टोलीसँग पत्रकारितामा देखिएका समस्या समाधान गर्न संयुक्त प्रयास गर्न सकिनेबारे छलफल गरेको हो।
चीनको सिचाङ प्रान्त (तिब्बत)बाट आएका तिब्बत सांस्कृतिक केन्द्र तथा पत्रकार महासंघका प्रतिनिधि र काउन्सिलका प्रतिनिधिबीच आइतबार काउन्सिलमा दुई देशको संस्कार, संस्कृति, परम्पराबारे एक–अर्को देशमा प्रचार गर्नुका साथै डिजिटल संचारसँगै पत्रकारितामा देखिएका समस्या समाधानमा संयुक्त पहल गर्न सकिनेबारे छलफल भएको हो।
कार्यक्रममा काउन्सिलका सदस्य विजयराज अधिकारीले भ्रमण टोलीलाई स्वागत गर्दै आपसी सद्भाव र सम्बन्ध बलियो बनाएर अघि बढ्न सकिने औंल्याए।
अधिकारीले प्रेस काउन्सिल नेपालको काम, कर्तव्य र मिडिया अनुगमनबारे जानकारी गराए।
सो अवसरमा काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले नेपाली मिडियाको अवस्था, कानुनी व्यवस्था, डिजिटल मिडियाका अवसर र चुनौतीबारे प्रस्तुति गरे।
यस्तै, चिनियाँ भ्रमण टोलीका प्रमुख लिओ जुनले हजारौँपटक सुन्नुभन्दा एकपटक देख्नु प्रभावकारी हुने भन्दै नेपाली पत्रकारलाई तिब्बत भ्रमणका लागि प्रबन्ध मिलाउन काउन्सिलसँग आग्रह गरे।
उनले नेपाल चीनबिच संचार क्षेत्रबाट प्रर्याप्त भ्रमण आदान–प्रदान हुन आवश्यक रहेको औँल्याए।
चीनले पछिल्ला वर्षमा डिजिटल परिवर्तनमा ठूलो फड्को मारेको जुनले बताए।
नेपालमा पनि सहकार्य गर्न सकिने जुनको भनाई थियो।
डिजिटल मिडिया व्यवस्थापनबारे आगामी अक्टोबरमा तिब्बतमा वृहत् सम्मेलन हुन लागेको जुनले उल्लेख गरे।
नेपालबाट समेत सहभागिताका लागि समन्वय गर्न भ्रमण टोलीले प्रेस काउन्सिलसमक्ष अनुरोध गरेको छ।
कार्यक्रममा चिनियाँ सिचाङ अन्तर्राष्ट्रिय संचार केन्द्रका सिरेन सोङ्जिया, नगरपालिका मिडिया सेन्टरका निर्देशक गेसाङ डेजी, काउन्सिल सदस्य याङ जेङलिङलगायतले चिनियाँ पत्रकारिता अभ्यासबारे जानकारी गराए।
शाखा अधिकृत सन्तोष अधिकारीले सहजीकरण गरेको कार्यक्रममा काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनाल, सह–प्रशासकीय अधिकृत रामशरण बोहरा, उपप्रशासकीय अधिकृत राधेश्याम अधिकारी, सबिता ढकाल, शाखा अधिकृत सुवास राईलगायतको सहभागिता थियो।