
२० वर्षमुनिको साफ महिला च्याम्पियनसीपमा नेपालले भूटानलाई ८ गोलले हराएको छ।
बंगलादेशको बसुन्धरा स्पोट्र्स मैदानमा शनिबार भएको खेलमा नेपालले भुटानलाई ८ गोलको फराकिलो अन्तरले हराएको हो।
नेपालका लागि पूर्णिमा राईले ह्याट्रिकसहित ४ गोल गरिन्।
मिना देउवाले ह्याट्रिक गरिन्।
कुसुम खतिवडाले १ गोल गरिन्।
यसअघि, पहिलो खेलमा नेपालले भुटानलाई ६–१ गोलले हराएको थियो।
प्रतियोगितामा घरेलु टोली बंगलादेशसहित नेपाल, भुटान र श्रीलंका सहभागी छन्।
डबल राउन्ड रोबिनका आधारमा खेल खेलाइएको हो।
सबै खेल सकिएपछि शीर्ष टोली च्याम्पियन बन्नेछ।
यसअघि, नेपालले श्रीलंकासँगका २ खेलमा पनि फरक गोलअन्तरमा जीत निकालेको थियो।
नेपालले श्रीलंकालाई पहिलो र दोस्रो खेलमा समान ७ गोलले हराएको थियो।
आफ्नो दोस्रो खेलमा नेपाल बंगलादेशसँग ३–२ गोलले पराजित भएको थियो।
बंगलादेशले ४ खेलमा जीत निकालेको छ।
१ खेल कम खेलेको बंगलादेश १२ अंकका साथ दोश्रो स्थानमा छ।
५ खेलमा ४ जीत र १ खेल हारेको नेपाल १२ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ।
आजै बेलुका बंगलादेश र श्रीलंका खेल्दैछन्।
नेपालले पर्सि सोमवार बंगलादेशसँग अन्तिम खेल खेल्नेछ।