
हेल्प नेपाल स्पोर्ट्स क्लबले काभा पुरुष च्याम्पियन्स लिगमा लगातार दोस्रो जीत निकालेको छ।
माल्दिभ्समा चलिरहेको च्याम्पियन्स लिगको दोस्रो खेलमा नेपाली लिग च्याम्पियन हेल्प नेपालले घरेलु टोली क्लब एचडीसीलाई ३–१ ले हरायो।
सुरुवाती २ सेट जितेको हेल्प नेपालले तेस्रो सेट गुमाएको थियो।
हेल्प नेपाल चौथो सेटमा खेलमा फर्कन सफल भयो।
शुक्रबारको खेलमा हेल्प नेपाल २५–१९, २५–२३, १९–२५, २५–२२ ले विजयी भएको हो।
बिहीबारदेखि सुरू भएको प्रतियोगिताको आफ्नो पहिलो खेलमा हेल्प नेपालले घरेलु अर्को टोली धिवेही सिफाइन्स क्लबलाई ३–२ को सेटमा हराएको थियो।
सेन्ट्रल एसियन भलिबल एशोसिएसन (काभा) को आयोजनामा भइरहेको च्याम्पियन्स लिगमा काभाका सदस्य रहेका ५ देशका लिग च्याम्पियन क्लब र आयोजकको उपविजेतासमेत गरी ६ टोलीको प्रतिस्पर्धा छ।
च्याम्पियन्स लिगको विजेताले सन् २०२६ को एसियन क्लब च्याम्पियनसीप खेल्न पाउनेछ।