काभा पुरुष च्याम्पियन्स लिग: हेल्प नेपाल स्पोर्ट्स क्लबको विजयी सुरुवात

जनसम्मत
श्रावण १, २०८२, बिहीवार

प्रतिस्पर्धात्मक खेलको अन्तिम पाँचौ सेटमा १५–८ ले हेल्प नेपालको रोमाञ्चक जीत

हेल्प नेपाल स्पोर्ट्स क्लबले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) च्याम्पियन्स लिग–२०२५ मा विजयी सुरुआत गरेको छ।

बिहीबार राति माल्दिभ्सको राजधानी मालेमा सुरु भएको खेलमा नेपालको प्रतिनिधित्व गरेको हेल्प नेपालले आफ्नो पहिलो खेलमा माल्दिभ्सको

धिवेही सिफाइन्सलाई ३–२ को सेटमा हरायो।

रोमाञ्चक जीतपछि हेल्प नेपालले महत्वपूर्ण २ अंक जोडेको छ।

पाकिस्तानी ३ खेलाडी समावेश गरेको हेल्प नेपालले पहिलो सेटमा प्रतिस्पर्धात्मक ३३–३१ को जीत निकाल्यो।

त्यस्तै, दोस्रो सेटमा सहजै २५–२० को जीत निकाल्यो।

तर, तेस्रो र चौथो सेट हेल्प नेपालले गुमायो।

पहिलो सेटमा हेल्प नेपालले २२–२५ गुमायो।

त्यस्तै, चौथो सेटमा पनि हेल्प नेपालले २०–२५ ले पराजित बन्यो।

त्यसपछि, खेल निर्णायक पाँचौ सेटमा पुग्यो।

निर्णायक सेटमा हेल्प नेपाल १५–८ ले विजयी बन्यो।

जुलाई १७, बिहीबारदेखि २३ बुधबारसम्म चल्ने प्रतियोगितामा सेन्ट्रल एसियाका ५ राष्ट्रको लिग विजेता क्लबहरुले प्रतिस्पर्धा गर्नेछ।

प्रतियोगिता सिंगल राउन्ड रोविन आधारमा खेलाइनेछ।

त्यसपछि शीर्ष स्थानमा रहने २ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

त्यस्तै, तेस्रो र चौथो स्थानमा रहने टोलीले तेस्रो स्थानका लागि खेल्नेछन्।

हेल्प नेपालले शुक्रबार दोस्रो खेलमा माल्दिभ्सकै अर्को टोली क्लब एचडीसीसँग खेल्ने तालिका छ।

त्यससपछि किर्गिस्तानको बिश्केक, काजकिस्तानको जायक भस्सी र श्रीलंकाको पोर्टस अथोरिटीसँग खेल्ने तालिका छ।

हेल्प नेपाल गत संस्करणको उपविजेता टोली हो।

काठमाडौंमा भएको फाइनलमा हेल्प नेपालले भारतीय प्राइम भलिबल लिग क्याम्पियन क्यालिकट हिरोजसँग पराजय बेहोरेको थियो।

उत्सव खड्काको प्रशिक्षणमा रहेको हेल्प नेपालले पाकिस्तानबाट उस्मान फराद अली, मुराव जेहान र मोहम्मद कासिफ नभिदलाई भित्राएको छ।

त्यस्तै, नेपाल पुलिस क्लबबाट सफल विश्वकर्मा, रविन नगरकोटी, रविन्द चन्द र एपीएफबाट लिबेरो विनोद चन्दलाई अनुबन्ध गरेको छ।

यता, सन्तोष राई, चिरञ्जीवी खड्का, सुवास कुवँर, मनिष मानन्धर, यमबहादुर भण्डारी र विष्णुबहादुर क्षत्री हेल्प नेपालमा सहभागी छन्।

सेन्ट्रल एसियन भलिबल एशोसिएसन (काभा) को आयोजनामा भइरहेको च्याम्पियन्स लिगमा काभाका सदस्य रहेका ५ देशका लिग च्याम्पियन क्लब र आयोजकको उपविजेतासमेत गरी ६ टोलीको प्रतिस्पर्धा छ।

च्याम्पियन्स लिगको विजेताले सन् २०२६ को एसियन क्लब च्याम्पियनसीप खेल्न पाउनेछ।