काभा च्याम्पियन्स लिग: हेल्प नेपाल स्पोर्ट्स क्लबको पहिलो हार

प्रतिस्पर्धात्मक अन्तिम पाँचौ निर्णायक सेटमा १५–११ ले हेल्प नेपाल पराजित

जनसम्मत
श्रावण ३, २०८२, शनिबार

हेल्प नेपाल स्पोर्ट्स क्लबले माल्दिभ्समा जारी सेन्ट्रल एसियन भलिबल संघ (काभा) च्याम्पियन्स लिगमा पहिलो हार ब्यहोरेको छ।

शनिबार सम्पन्न निकै रोमाञ्चक खेलमा हेल्प नेपाल किर्गिस्तानको क्लब बिश्केकसँग ३–२ को सेटमा पराजित भयो।

यो नतिजासँगै हेल्प नेपालले ३ खेलबाट ६ अंक जोडेको छ।

हेल्प नेपालले पहिलो सेट २०–२५ ले गुमायो।

निकै रोमाञ्चक दोस्रो सेटमा हेल्प नेपालले २८–२६ ले आफ्नो पक्षमा पार्‍यो।

तेस्रो सेट पनि हेल्प नेपालले २०–२५ ले गुमायो।

चौथो सेट भने हेल्प नेपालले २५–१७ को सहज जित निकाल्दै खेललाई पाँचौं सेटसम्म पुर्‍यायो।

पाँचौं तथा निर्णायक सेट हेल्प नेपालले ११–१५ ले गुमायो।

अघिल्ला दुई खेलमा हेल्प नेपालले माल्दिभ्सका २ घरेलु क्लबहरु धिवेही सिफाइन्स क्लबलाई ३–२ तथा क्लब एचडीसीलाई ३–१ सेटमा पराजित गरेको थियो।

सेन्ट्रल एसियन भलिबल एशोसिएसन (काभा) को आयोजनामा भइरहेको च्याम्पियन्स लिगमा काभाका सदस्य रहेका ५ देशका लिग च्याम्पियन

क्लब र आयोजकको उपविजेतासमेत गरी ६ वटा टोली सहभागी छन्।

च्याम्पियन्स लिगको विजेताले सन् २०२६ को एसियन क्लब च्याम्पियनसीप खेल्न पाउनेछ।