
प्रेस काउन्सिल नेपालमा सोलुसन जर्नालिज्म (समाधान पत्रकारिता) सम्बन्धी कार्यशालाको आयोजना गरिएको छ।
काउन्सिलले काउन्सिलको सभाहलमा मंगलबार एक कार्यक्रमबीच सोलुसन जर्नालिज्म नेटवर्कसँगको सहकार्यमा सोलुसन जर्नालिज्म (समाधान पत्रकारिता) सम्बन्धी कार्यशालाको आयोजना गरेको हो।
सोलुसन जर्नालिज्म नेटवर्कका मान्यताप्राप्त प्रशिक्षक टुमराज कोइरालाले उक्त कार्यशालामा कार्यपत्रसहितको प्रस्तुती राख्दै समाधान पत्रकारिताबारे परिचयसहित यसका आधारभूत पक्ष, यसको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा भएका अभ्यासबारे चर्चा गरे।
कार्यशालामा पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइन संचारमाध्यममा कार्यरत २० भन्दा बढी पत्रकारको सहभागिता थियो।
कार्यशालामा प्रेस काउन्सिल नेपालका सदस्य बालकृष्ण अधिकारीले प्रेस काउन्सिल नेपाल प्रेस स्वतन्त्रताका संरक्षण गर्दै समाधान पत्रकारिताका लागि सहकार्य गर्दै अगाडि बढ्न तयार रहेको प्रतिबद्धता जनाए।
३ सत्रमा विभाजित कार्यशालामा पहिलो सत्रमा समाधान पत्रकारितासम्बन्धी कार्यपत्र प्रस्तुत गरिएको थियो।
दोस्रो सत्रमा समाधान पत्रकारितासम्बन्धी नेपालमा भएका अभ्यासका सन्दर्भमा छलफल गरिएको थियो।
त्यस्तै, तेस्रो सत्रमा समाधान पत्रकारिताका सन्दर्भमा अबको बाटो कस्तो हुनुपर्छ भन्नेबारेमा छलफल गरिएको थियो।
छलफलमा प्रेस काउन्सिल नेपालका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनाल, नेपाल टेलिभिजनका कार्यकारी सम्पादक डा. राजेन्द्रराज तिमिल्सिना, गोरखापत्र दैनिकका सम्पादक तुलसीहरि कोइराला, नेपाल टेलिभिजनका वरिष्ठ समाचार सम्पादक देवीप्रसाद सापकोटा, नेपाल समाचारपत्र दैनिकका डेक्स सम्पादक प्रमुख यदुप्रसाद भट्ट, नागरिक दैनिकका सह–सम्पादक तिलकप्रसाद सापकोटा, राजधानी दैनिकका वरिष्ठ संवाददाता सुवास साह, नयाँपत्रिका दैनिकका वरिष्ठ संवाददाता टेकराज थामी, अन्नपूर्ण पोष्ट दैनिकका समाचार संयोजक रामकला खड्का, सामुदायिक रेडियो नेटवर्क ‘सीआइएन’ का संवाददाता सुशीला श्रेष्ठ, जलवायु डटकमका सम्पादक सौगात मिश्रलगायतले यससम्बन्धी आ–आफ्ना जिज्ञासासहित धारणा राखे।
कार्यशालामा आएका जिज्ञासाको जवाफ मुख्य अधिकृत झबिन्द्र भुसालले र प्रशिक्षक टुमराज कोइरालाले दिए।
कायक्रमको संयोजन उप–प्रशासकीय अधिकृत सविता ढकालले गरेकी थिइन्।
सहभागीलाई स्वागत गर्दै सोलुसन जर्नालिज्म नेटवर्कले काउन्सिलसँग सहकार्यमा यस प्रकारको कार्यक्रम पहिलोपटक आयोजना गरिएको र यो कार्यक्रमपछि सम्बन्धित संचार माध्यममा सुक्ष्म रूपमा समाधानमुखी पत्रकारिताको आयामबारे अध्ययन गरी छलफल समेत गरिने काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले उल्लेख गरे।