डिजिटल मिडिया र पत्रकार आचारसंहितासम्बन्धी अन्तरक्रिया

हाल, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्ताक्षेप बढ्दै गएकोप्रति चिन्ता ब्यक्त

जनसम्मत
श्रावण २, २०८२, शुक्रबार

प्रेस काउन्सिल नेपालले ‘डिजिटल मिडिया व्यवस्थापन र पत्रकार आचारसंहितासम्बन्धी अन्तरक्रिया गरेको छ।

प्रेस काउन्सिल नेपालको सभाहलमा बुधबार विभिन्न संचार माध्यममा कार्यरत पत्रकार महिलाका लागि ‘डिजिटल मिडिया व्यवस्थापन र पत्रकार आचारसहिता’ सम्बन्धी एक अन्तरक्रिया गरेको हो।

क्रियाशील महिला पत्रकार (डब्लुडब्लुजे) ले संयोजन गरेको कार्यक्रममा विभिन्न मिडियामा कार्यरत ३२ महिला पत्रकारको उपस्थिति थियो।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य सन्तराम बिडारीले पत्रकार आचारसंहिताको विषयमा विस्तृत जानकारी गराए।

त्यस्तै, प्रेस काउन्सिल नेपालका सदस्य नकुल अर्यालले पत्रकार महिलाको जिज्ञासा मेटाउँदै काउन्सिल पत्रकारको सहयोगी संस्था रहेको र यसले पत्रकारितालाई व्यावसायिक र मर्यादित बनाउन सहजीकरण गर्ने उल्लेख गरे।

त्यसैगरी काउन्सिलको पूर्वसदस्य एवं डब्लुडब्लुजेकी सल्लाहकार शुभेच्छाविन्दु तुलाधरले काउन्सिलले जारी गरेका महिलामैत्री संचार निर्देशिका, अपाङ्गतामैत्री संचार निर्देशिकालगायतको विषयमा जानकारी गराइन्।

उनले नेपालको राष्ट्रिय कानुन, अन्तर्राष्ट्रिय सन्धी–सम्झौताहरूलाई विस्तृत अध्ययन गर्नुका साथै सम्बन्धित सरोकारवालाको राय–सुझाव संकलन गरी यी निर्देशिकाहरू तयार पारेको औंल्याइन्।

काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले युट्युब व्यवस्थापनमा काउन्सिलले काम गरिरहेको जानकारी गराए।

डब्लुडब्लुजेकी अध्यक्ष रामकला खड्काले हाल प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्ताक्षेप बढ्दै जानु गंभीर प्रकृतिको विषय रहेको बताइन्।

पत्रकारले आचारसंहिताको पालना गर्दै मर्यादित, उत्तरदायी र व्यावसायिक पत्रकारितालाई अगाडि बढाउनुपर्नेमा उनले जोड दिइन्।