संसदीय पत्रकार मञ्च, गण्डकीको नवनिर्वाचित समितिको पदभार

गत असार २९ गते सम्पन्न अधिवेशनले विशन क्षत्रीको नेतृत्वमा आगामी २ वर्षका लागि ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो

जनसम्मत
श्रावण ९, २०८२, शुक्रबार

संसदीय पत्रकार मञ्च गण्डकीको चौथो अधिवेशनबाट निर्वाचित समितिले शुक्रबार पदभार ग्रहण गरेको छ।

प्रदेशका सभामुख कृष्णप्रसाद धिताल, उपसभामुख बिनाकुमारी थापा र प्रदेश सभा सचिव हरिराज पोखरेलको उपस्थितिमा पदभार ग्रहण गरेको हो।

कार्यक्रममा निर्वाचन समिति संयोजक रमेश पौडेलले निर्वाचित समितिका पदाधिकारी र सदस्यहरुलाई प्रमाणपत्र प्रदान गर्दै सपथसमेत गराए।

कार्यक्रममा सभामुख धितालले मञ्चले पछिल्ला २ वर्षमा सम्पादन गरेका कामको प्रशंसा गरे।

उनले आगामी दिनमा समेत मञ्चसँगको सहकार्यको अपेक्षा गरे।

संघीयताको सुदृढीकरणका लागि प्रदेश सभा पत्रकारसँग सहकार्य गर्न सदैव तयार रहेको उनको भनाई थियो।

पत्रकारको क्षमता वृद्धि मात्र नभएर संसदीय निगरानीमा समेत मञ्च क्रियाशील रहेकामा उनले खुसी व्यक्त गरे।

प्रदेश एक्लैले चाहेर मात्र संघीयता सबल नहुने भन्दै उनले यसका लागि ३ तहकै सरकारबीच समन्वय जरुरी रहेको उनले औंल्याए।

उपसभामुख थापाले पत्रकारको दैनिक कामका अतिरिक्त मञ्चले संसदीय निगरानीका काम नियमित रुपमा गर्दै आएको उल्लेख गरिन्।

पत्रकारको क्षमता अभिवृद्धिका लागि प्रदेश सभा सदैव सहयोग गर्न तयार रहेको उनले प्रतिबद्धता जनाइन्।

प्रदेश सभा सचिव हरिराज पोखरेलले मञ्चको आग्रहअनुसार कार्यालयको व्यवस्था गरिएको बताए।

आगामी दिनमा यसलाई अझै व्यवस्थित बनाउँदै लैजाने उनले प्रतिबद्धता जनाए।

कार्यक्रममा निर्वाचन समिति संयोजक रमेश पौडेलले मञ्चले बिट रिपोर्टिङलाई महत्वपूर्ण रुपमा स्थापित गरेको बताए।

यसले संघीयता सबलीकरणमा सहयोग गरेको उनले औंल्याए।

निवर्तमान अध्यक्ष भरत कोइरालाले मञ्चले २ वर्षमा गरेका कामका बारेमा जानकारी गराए।

कार्यक्रममा निर्वाचन समिति सदस्य केशवशरण लामिछानेले आचारसंहिता लागु गरेर मञ्चले आफूलाई अब्बल र व्यासायिक संस्थाका रुपमा पहिचान दिलाएको बताए।

संस्थाका संस्थापक अध्यक्ष समेत रहेका निर्वाचन समिति सदस्य लालप्रसाद शर्माले संस्थाले खादामाला निरुत्साहित गर्दै तडकभडकपूर्ण कार्यक्रमबाट परै रहेको बताए।

नवनिर्वाचित अध्यक्ष क्षत्रीले आफूलाई थप जिम्मेवारी महसुस भएको बताउदै मञ्चले गरेका कार्यलाई निरन्तरता दिने प्रतिबद्वता जनाए।

गत असार २९ गते भएको अधिवेशनले विशन क्षत्रीको नेतृत्वमा आगामी २ वर्षका लागि समिति निर्वाचित गरेको हो।

उपाध्यक्षमा अनुप पौडेल, सचिवमा युवराज गुरुङ (युनिश), सह–सचिवमा उमा आलेमगर र कोषाध्यक्षमा ऋषिराम बराल छन्।

त्यस्तै, सदस्यमा दुर्गा राना, विमल तिवारी, चन्द्रिका घिमिरे (अनिता), प्रतीक्षा काफ्ले, सञ्जय रानाभाट र सुवास पौडेल छन्।