गोरखाबाट प्रकाशित ‘हाम्रो गोरखा सन्देश’ पत्रिका १८ औं वर्षमा प्रवेश

यस वर्षदेखि प्रत्येक वर्ष १० हजार रुपैयाँको ‘गोरखा सन्देश पत्रकारिता पुरस्कार’ को घोषणा

जनसम्मत
श्रावण १२, २०८२, सोमबार

गोरखाबाट प्रकाशित हुने ‘हाम्रो गोरखा सन्देश’ पत्रिका १८ औं वर्षमा प्रवेश गरेको छ।

आज (सोमबार), सो पत्रिकाले १८ औँ वार्षिकोत्सव कार्यक्रम मनाएको हो।

जिल्ला समन्वय समिति गोरखाको सभाहलमा भएको कार्यक्रममा गोरखा जिल्ला समन्वय प्रमुख मोहनबहादुर थापामगर, गोरखाका पत्रकार, कार्यलय प्रमुख, प्रहरी प्रमुखलगायतको सहभागितामा पत्रिकाको वार्षिकोत्सव मनाएको हो।

कार्यक्रममा गोरखा जिल्ला समन्वय प्रमुख मोहनबहादुर थापामगरले ‘हाम्रो गोरखा सन्देश’ पत्रिका गोरखामा पत्रकारहरु जन्माउने संस्थाको रुपमा स्थापित रहेको औंल्याए।

थापाले उल्लेख गरे, ‘कलेजमा पत्रकारिता पढेका विद्यार्थीहरु पत्रकार कहिले बन्छन् भन्ने थाहा हुँदैन। तर, ‘हाम्रो गोरखा सन्देश’ ले वर्षेनी नयाँ पत्रकार उत्पादन गरी बजारमा पठाएको मात्रै छैन, मूलधारका मिडियामा स्थापित समेत गराएको छ। लोकतान्त्रिक आन्दोलनपछि गोरखामा पहिलो पटक दर्ता भएको पत्रिकाले गोरखाका सरकारी कार्यालयमा भएका विकृति विसंगतिविरुद्ध डटेर लेखेको र समाज परिवर्तनमा महत्वपूर्ण भूमिका रहेको छ।’

नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष नरेन्द्र ढकालले ‘हाम्रो गोरखा सन्देश’ हामी सबैको अभिभावक संस्थाको रुपमा रहेको बताए।

‘पत्रिकाले समाजका जायज विषयलाई अघि ल्याएर गोरखाको पत्रकारिता क्षेत्रमा छुट्टै पहिचान निर्माण गरेको छ’, उनले भने।

पत्रिकाका पूर्व सम्पादक राजेन्द्र न्यौपानेले ‘हाम्रो गोरखा सन्देश’ पत्रिकाको मुख्य उद्देश्य समाजमा रहेका विकृति विसंगति र नाजायज राजनैतिक स्वार्थको अन्त्य गर्नु रहेको औंल्याए।

‘समाजमा नेता भन्ने वित्तिकै असल होला भन्ने भ्रम कायमै रहेकोले अहिलेको दुनियाँ मगज र सीपबाट समानान्तर चल्नुपर्छ’, उनले भने।

पत्रिकाका संस्थापक सम्पादक रामबाबु ढकालले ‘हाम्रो गोरखा सन्देश’ ले यस वर्षदेखि प्रत्येक वर्ष १० हजार रुपैयाँको गोरखा सन्देश पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गरे।

पत्रिकाका संस्थापक सम्पादक रामबाबु ढकाललको अध्यक्षतामा कार्यक्रम भएको हो।

‘हाम्रो गोरखा सन्देश’ ले सुशासन र विकासका लागि विगत १८ वर्षदेखि गोरखा र आसपासका क्षेत्रका विषयहरुलाई उठान गर्दै आएको छ।