पोखरामा पहिलो पटक आरयु फेष्ट हुँदैं

परियोजनामार्फत आगामी २ वर्षमा ३ हजार रोजगारी सृजना गर्ने लक्ष्य राखिएको छ

जनसम्मत
श्रावण १५, २०८२, बिहीवार

पोखरामा पहिलो पटक आरयु फेष्ट हुँदेंछ।

बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमार्फत सो कुराको जानकारी गराइएको छ।

पोखरा महानगरपालिकासँगको सहकार्यमा कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) को आर्थिक सहयोग तथा संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडीपी) को प्राविधिक सहयोगमा पोखरामा संचालित रिसाइक्लिङ र अपसाइक्लिङमार्फत हरित रोजगारी सिर्जना परियोजनाअन्तरगत आरयु फेष्ट गर्न लागिएको हो।

यही श्रावण १६ र १७ गते बुलौदीस्थित पोखरा इभेन्ट सेन्टरमा फोहोरलाई खजना (मोहोर) बनाउने मुलमन्त्रसहित यो फेस्टिभल आयोजना गरिएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताए।

नगर प्रमुख आचार्यले पोखरा लगायत सिङ्गो मुलुकको हरित विकासका लागि एक नवीनतम प्रयासका रूपमा फेस्टिभल स्थापित हुने अपेक्षा समेत व्यक्त गरे।

फेस्टिभलले सृजनशीलता, नवप्रवर्तन र दिगोपनाका लागि हातेमालो गर्दै वातावरणमैत्री र सुरक्षित भविष्य निर्माण गर्ने लक्ष्य राखेको उनले बताए।

नगर प्रमुख आचार्यले भने, ‘दैनिक जीवनमा प्रयोगहीन सामाग्रीहरू रिसाइक्लिङ र अपसाइक्लिङ गरी हरित रोजगारी सिर्जनासहित चकृय अर्थतन्त्रको निर्माणमा फेस्टिभलले नयाँ ज्ञान, सीप र मार्गदर्शन प्रदान गर्नेछ। यसले उद्यमशीलता र रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान गर्नेछ।’

फेस्टिभलमा रिसाइक्लिङ र अपसाइक्लिङसम्बन्धी नेपालको मौलिक सीप र दक्षिण कोरियाको चकृय अर्थतन्त्रमा यसले पारेको सकारात्मक प्रभाव र प्रेरणादायी अनुभवहरू आदान–प्रदान गरिने उनले अर्थ्याए।

फेस्टिभलमा देशभरिका नवप्रर्तनयुक्त रिसाइक्लिङ र अपसाइक्लिङ उत्पादनहरूको प्रदर्शनी, फोहोरलाई उपयोगी वस्तुमा रूपान्तरण गर्ने प्रक्रियाको प्रत्यक्ष प्राविधिक डेमो सो, जलवायु, दिगो पर्यटन विकास, हरित उद्यमशीलता र प्लास्टिक टु रोड प्रविधिमाथि संवाद, युवाहरूका लागि सिर्जनात्मक कार्यशाला, सार्वजनिक कला प्रदर्शनी, सहभागितामूलक गतिविधिहरू प्रस्तुत, दक्षिण कोरियाको सफलता अनुभवमाथि विशेष संवाद सत्र, हरित रोजगारी, बजार पहुँच र दिगो जीविकोपार्जनका उपायहरूलगायतका विषयहरूमाथि चर्चा परिचर्चा हुनेछ।

हाल रिसाइक्लिङ र अपसाइक्लिङमार्फत हरित रोजगारी सिर्जना परियोजना अन्तरगत कोइकाको ९.८ मिलियन अमेरिकी डलर र युएनडीपीले ०.८७ मिलियन अमेरिकी डलर आर्थिक सहयोगमा पोखरामा जीभीजेड सेन्टर निर्माण भइसेको छ।

पोखराको नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा कोसेली घर निर्माणको काम भइरहेको छ।

पोखरा महानगरपालिका क्षेत्रमा १३६ वटा सामुदायिक समूहहरू निर्माण गरी उनीहरूलाई आवश्यक तालिम तथा प्राविधिक प्रशिक्षण पनि प्रदान गरिएको छ।

‘यस परियोजनाले युवाहरूलाई रोजगारीसँग जोड्ने छ भने हरित अर्थतन्त्रको विकासमा महत्वपूर्ण योगदान गर्नेछ’, नगर प्रमुख आचार्यले प्रष्ट पारे।

फोहोरमैलाको उचित व्यवस्थापनमार्फत हरित रोजगारी सृजना र चकृय अर्थतन्त्रको सृजनशील उपयोग आम समुदायका लागि निकै महत्वपूर्ण हुने विश्वास गरिएको छ।

हरित अर्थतन्त्रमा योगदान पुर्‍याउने आरयू उद्यमहरूलाई बढवा दिन दिगो नीतिको सुनिश्चिततासहित महानगरपालिकाले परियोजनाको स्वामित्वमा लिनेछ।

परियोजनामार्फत आगामी २ वर्षमा ३ हजार रोजगारी सृजना गर्ने लक्ष्य राखिएको छ।

फेस्टिभल उत्सुक विद्यार्थीहरू, उद्देश्यमूलक उत्पादनहरू, दूरदर्शी नीतिनिर्माताहरु र जिज्ञासु नागरिकहरूका लागि यो फेस्टिभल सहकार्य, सृजनशीलता र सकारात्मक कदमको साझा मञ्च बन्नेछ।

पर्यटकीय राजधानी पोखरालाई हरित, दिगो र स्मार्ट बनाउने यात्रामा हातेमालो गर्न पोखरा महानगरपालिकाले आम पोखरेलीहरूलाई सार्वजनिक आह्वान समेत गरेको छ।