पोखरामा पहिलो पटक बजाज पल्सर स्पोर्ट्स अवार्ड हुँदैं

पोखरा महानगरबाट २० लाख सहयोग, मेयर आचार्य र मञ्चबीच सम्झौता–पत्रमा हस्ताक्षर

जनसम्मत
श्रावण १४, २०८२, बुधबार

पोखरामा पहिलो पटक बजाज पल्सर स्पोर्ट्स अवार्ड हुँदैंछ।

प्रतिष्ठित बजाज पल्सर स्पोर्टस् अवार्ड पहिलो पटक राजधानी बाहिर खेलकुदको शहर पोखरामा गर्न लागेको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले बताएको छ।

२०६० सालदेखि निरन्तर हुँदै आएको यस अवार्डको २२ औं संस्करण आगामी भदौ २९ गते पोखरा इभेन्ट सेन्टरमा हुने मञ्चले जानकारी गराएको हो।

कार्यक्रमलाई सफल बनाउन पोखरा महानगरपालिकाले २० लाख रुपैयाँ सहयोग गर्ने भएको छ।

पोखराका मेयर धनराज आचार्य र एनएसजेएफका अध्यक्ष निरञ्जन अधिकारीबीच बुधबार सम्झौता–पत्रमा हस्ताक्षरसमेत गराएका छन्।

‘पोखरा भ्रमण वर्ष–२०२५’ लाई मध्यनजर गर्दै अवार्ड पोखरामा गर्न लागिएको हो।

‘काठमाडौँ बाहिर अवार्ड लैजाने सोंच केही वर्षदेखि नै आफूहरुको रहेको त्यसमा आर्थिक र प्राविधिक कारणवश आयोजना गर्न नसकिएको अबस्थामा यस बर्ष पोखरा महानगरले सहयोग गरी अपनत्व लिएका कारण पोखरामा आयोजना गर्न लागिएको अध्यक्ष निरञ्जन अधिकारीले बताए।

अध्यक्ष अधिकारीले भने, ‘यसपटक पोखराले भ्रमण वर्ष मनाइरहेको र महानगरको विशेष पहलका कारण यो संभव भएको हो। पोखरा महानगर यस अवार्डको प्रबर्द्धकको रूपमा रहनेछ।’

मेयर आचार्यले पोखरालाई खेलकुदको उर्वर भूमि भन्दै अवार्डको सफल आयोजनाका लागि पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्।

आचार्यले खेल पर्यटन प्रवर्द्धनमा अवार्डले ठूलो योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

पछिल्लो समय नेपाली खेलाडीहरूले खेलबाटै जीविकोपार्जन गर्न सकिने उदाहरण पेश गरेको उनले उल्लेख गरे।

अवार्डअन्तर्गत १० विधामा खेलाडी तथा खेलकर्मीलाई सम्मान गरिनेछ।

उत्कृष्ट खेलाडी (पुरुष, महिला, युवा), ‘उत्कृष्ट प्रशिक्षक’, ‘पिपल्स च्वाइस अवार्ड’, ‘पारा एथलिट सम्मान’, ‘स्पेसल अवार्ड’, ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’, ‘एसियन स्पोट्र्स जर्नालिस्ट’ र ‘टिम अफ द इयर’ विधामा विजेता घोषणा गरिनेछ।

पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस विजेतालाई पल्सर मोटरसाइकल प्रदान गरिनेछ भने अन्य विधाका विजेता तथा सम्मानीत व्यक्तिलाई जनही १ लाख रुपैयाँ पुरस्कार दिइनेछ।

‘पिपल्स च्वाइस’ र अन्य मनोनयन केही दिनमै सार्वजनिक गरिने आयोजकले जनाएको छ।

निवर्तमान अध्यक्ष देवेन्द्र सुवेदीका अनुसार यस पटकका केही अवार्ड पोखरा क्षेत्रमा प्रभाव पार्ने गरी वितरण गरिनेछ।

खेलकुद पत्रकार मञ्च, गण्डकीका अध्यक्ष एमबी आस्थामगरले अवार्डलाई सफल पार्न संपूर्णको साथ आवश्यक भएको उल्लेख गरे।