
पत्रकारहरु राम गुरुङ र कैलाशबाबु श्रेष्ठ (सुशिल) लाई कञ्चन पत्रकारिता पुरस्कार–२०८२ प्रदान गरिएको छ।
कास्कीका फोटो पत्रकार गुरुङ र गोरखाका पत्रकार श्रेष्ठ (सुशिल) सो पुरस्कारबाट सम्मानीत भएका हुन्।
पोखराका व्यवसायी बिमलमान गुभाजू तथा उनको परिवारद्धारा आमा स्व. नेत्रकुमारी गुभाजू तथा बाबा स्व. वेदमान गुभाजूको स्मृतिमा स्थापना गरिएको उक्त पुरस्कार नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीले मंगलबार पत्रकार गुरुङ र श्रेष्ठलाई प्रदान गरेको हो।
पुरस्कृत पत्रकारहरुलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, पुरस्कार दाता बिमलमान गुभाजु र उनको परिवार, फोनिज गण्डकी अध्यक्ष खिमाकुमारी गुरुङलगायतले दोसल्ला, सम्मान पत्र र नगद २५ हजार रुपैयाँसहित सम्मान गरेका हुन्।
फोनिज स्थापना दिवसका अवसरमा पत्रकारितामा क्रियाशील रहेर काम गरिरहेका २ जनालाई हरेक वर्ष यो पुरस्कार प्रदान गर्दै आइरहेको छ।
सोही अनुसार २६ औं स्थापना दिवसका अवसरमा यो वर्ष पोखराका फोटो पत्रकार गुरुङ र गोरखाका पत्रकार श्रेष्ठ (सुशिल) सम्मानीत भएका हुन्।