दोस्रो संस्करणको पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिताको तयारी तीब्र

ईच्छुक धावकहरुका लागि नाम दर्ता गर्न आज (सोमबार) रातिदेखि अनलाइन फर्म खुल्ला

जनसम्मत
भाद्र २, २०८२, सोमबार

यही असोज ४ गते (शनिबार) हुन गइरहेको दोस्रो संस्करणको पुम्दी–भुम्दिी पर्वतीय दौड प्रतियोगिताको तयारी तीब्र पारिएको छ।

पोखरा क्लिक प्रा.लि.को आयोजनामा हुने उक्त प्रतियोगिताको तयारी तीब्र पारिएको सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो।

विश्वशान्ति स्तुपबाट सुरु भई पुम्दीकोट विशाल महादेवको मूर्ति परिक्रमा गरी पोखरा–२२ वडा कार्यालय हुँदै निगालेडाँडामा अवस्थित कालाबाङ घरेडी बुद्ध पार्कमा समापन हुने ८ किमि पर्वतीय दौडमा खुला, वडास्तरीय, महिला, यु–१६ र पर्यटन तथा ४० बर्षमाथिका भेट्रानतर्फको प्रोत्साहन गरी ६ वटा इभेन्ट समावेश गरिएको प्रतियोगिताका संयोजक दीननाथ बरालले बताए।

अघिल्लो संस्करणको तुलनामा पुरस्कार राशि दोब्बर गरिएको छ भने २ इभेन्ट थप गर्दै प्रोत्साहन पुरस्कार व्यबस्था गरिएको बरालले जनाए।
प्रतियोगितामा खुलातर्फको विजेताले ५० हजार नगद प्राप्त गर्नेछन्।

दोस्रोले ३० हजार, तेस्रोले १५ हजार, चौथोले ७ हजार, पाँचौँले ३ हजार पुरस्कार जित्नेछन्।

छैटौँदेखि १० औं स्थानसम्म दुरी पूरा गर्ने धावकले जनही १ हजार पाउनेछन्।

यसैगरी, वडास्तरीय, खुल्ला महिला र यु–१६ तर्फका विजेताले जनही १५ हजार र उपविजेताले जनही ७ हजार पुरस्कार जित्नेछन्।

प्रतियोगितामा यस वर्ष ४० वर्ष माथिका भेट्रान र विदेशी धावकलाई प्रोत्साहन पुरस्कारकोसमेत व्यवस्था गरिएको छ।

भेट्रान र विदेशी इभेन्टका विजेतालाई जनही १५ हजार रुपैयाँका दरले प्रोत्साहन पुरस्कार प्रदान गरिनेछ।

प्रतियोगितामा सहभागि हुने खेलाडीहरुले अनलाइन फराम भर्नु पर्नेछ।

अनलाइन फारम आज (सोमबार) राति १२ बजेदेखि खुल्ला गरिएको प्रतियोगिातका निर्देशक ओम लामाले बताए।

यही भदौं २५ गतेसम्म मात्र धावकहरुले अनलाइन फारममार्फत आफ्नो नाम दर्ता गराउन सक्नेछन्।

पोखरा क्लिक डटकममा अनलाइन फारम भर्न सकिन्छ।