फेसबुकको माउ मेटाले नेपालको संविधान र कानून नमान्ने खुलासा

संचारमन्त्री गुरुङ भन्छन्, ‘सामाजिक सञ्जालको प्रयोगलाई सुरक्षित र उत्तरदायी बनाउने उद्देश्यले विधेयक ल्याइएको हो’

जनसम्मत
भाद्र ३, २०८२, मंगलवार

फेसबुकको माउ संस्था मेटाले नेपालको संविधान र कानून नमान्ने खुलासा भएको छ।

संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो कुराको खुलासा गरेका हुन्।

‘मन्त्री गुरुङले खुलाए, ‘फेसबुकको माउ संस्था मेटाले तिमीहरूको कानून मान्दिनँ भनेर ठाडै जवाफ दिएको छ।’

मन्त्री गुरुङले नेपालमा दर्ता हुन पटक–पटक आग्रह गर्दा पनि मेटाले नेपालको संविधान र कानून नमान्ने जवाफ फर्काएको समेत खुलासा गरे।

राष्ट्रियसभाको मंगलवारको बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री गुरुङले प्रष्ट पारे, ‘सरकारका आलोचक तथा व्यवस्थाविरोधीको मुख थुन्ने उद्देश्यले सामाजिक सञ्जालसम्बन्धी विधेयक ल्याइएको होइन।’

मुलुकमा डिजिटल प्लाटफर्मको बढ्दो प्रभाव नियमन गर्न विधेयक ल्याइएको मन्त्री गुरुङको दावी छ।

सामाजिक सञ्जालको माध्यमबाट मुलुकमा अशान्ति फैलाउने तथा राष्ट्रहित विरोधी गतिविधि नियन्त्रण गर्न सरकारले विधेयक अघि सारेको उनको जिकिर छ।

मन्त्री गुरुङले उनले नेपालमा संचालन हुन सबै प्लाटफर्म कानूनी दायरामा आउनैपर्ने जिकिर गरे।

सोही प्रावधान लागू गर्न विधेयक महत्वपूर्ण सावित हुने उनले तर्क गरे।

मन्त्री गुरुङले भने, ‘हिजो मात्रै सम्मानीत सर्वोच्च अदालतले भन्यो, ‘सामाजिक सञ्जाललाई तुरुन्त नियमन गर। जथाभावी चल्नेहरूलाई बन्द गर पनि भन्यो। सरकारका आलोचक, विरोधी तथा व्यवस्था विरोधीहरूको मुख थुन्न विधेयक ल्याइएको हैन। मेटालाई हामीले दर्ता हुन आउन भन्यौँ। उसले तेरो संविधान पनि मान्दैनौं, कानून पनि मान्दैनौँ भन्यो। किनभने हाम्रो खुट्टी उनीहरूले देखेका छन्।’

सामाजिक सञ्जालको प्रयोगलाई सुरक्षित र उत्तरदायी बनाउने उद्देश्यले विधेयक ल्याइएको बताए।