
पोखराको पुरानो टुँडिखेलमा हुने ‘ऐतिहासिक तीज महोत्सव’ को तयारी तीब्र पारिएको छ।
यही भदौको ६ देखि १५ गतेसम्म हुने महोत्सवलाई सभ्य र भव्य रुपमा सफल बनाउन आयोजक इन्द्रेणी एकीकृत विकास केन्द्र पोखरा तीब्र तयारीमा जुटेको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बताइएको छ।
तीज महिलाहरुको पर्व भएपनि पोखराको पुरानो टुँडीखेलको पुरानै पहिचानलाई कायम राख्न र पुरानै परम्परालाई जगेर्ना उद्देश्यले यस वर्षपनि ‘ऐतिहासिक तीज महोत्सव’ को कार्यक्रम राखिएको केन्द्रका अध्यक्ष भानुभक्त अधिकारीले उल्लेख गरे।
महोत्सवमा प्रतियोगितात्मक कार्यक्रमसहित स्थानीय उत्पादनका प्रदर्शन साथै व्यापारिक स्टल, बालउद्यान र झाँकी प्रदर्शन गरिने अधिकारीले बताए।
प्रतियोगितात्मक कार्यक्रमहरुमा खुल्ला तीज गीत प्रतियोगिता, एकल तीज गीतसहितको गृहिणी नृत्य प्रतियोगिता, छेलो फाल्ने प्रतियोगिता, परम्परागत सीप ढिकीजाँतो प्रतियोगिताहरु छन्।
खुल्ला तीज गीत प्रतियोगिताका विजेताले ३५ हजार ५५५, दोस्रोले २० हजार ५५५, तेस्रोले १० हजार ५५५, शान्त्वनाले ५ हजार ५५५ र उत्कृष्ट भेषभूषाले ३ हजार ५५५ रुपैयाँ नगद पुरस्कार जित्नेछन्।
त्यस्तै, एकल तीज गीत गृहिणी नृत्य प्रतियोगिताका प्रथम १२ हजार ५५५, दोस्रोले ७ हजार ५५५, तेस्रोले ५ हजार ५५५ र शान्त्वनाले ३ हजार ५५५ रुपैयाँ नगद पुरस्कार जित्नेछन्।
छेलो फाल्ने प्रतियोगिताका विजेताले १२ हजार ५५५, दोस्रोले ७ हजार ५५५ र तेस्रोले ५ हजार ५५५ पुरस्कार जित्नेछन्।
परम्परागत सीप ढिकीजाँतो प्रतियोगिताका प्रथम हुनेले १२ हजार ५५५, दोस्रोले ७ हजार ५५५, तेस्रोले ५ हजार ५५५ रुपैयाँ नगद पुरस्कार जित्नेछन्।
महोत्सवमा आमा समूहस्तरिय विविध गतिविधिहरुको आयोजना गरिने अध्यक्ष अधिकारीले जनाए।
महोत्सवमा प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको साँस्कृतिक, सांगीतिक तथा हाँस्यव्यंग प्रदर्शन समेत रहने बताइएको छ।
प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, राजु परियार, जेति मगर, श्याम राना, नबिना सिलवाल (खुइली) लगायतका राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने जनाइएको छ।
महोत्सवमा महिला उद्यमीद्धारा उत्पादित वस्तुहरुको प्रदर्शनी र मनोरञ्जनका लागि बालउद्यानसहितको करिब १५० स्टल रहने आयोजक इन्द्रेणी एकीकृत विकास केन्द्र पोखराले बताएको छ।