पत्रकार महासंघद्धारा आन्दोलनको घोषणा

‘अनलाइन संचारमाध्यमको दर्ता र नवीकरण तत्काल खुला गर’

जनसम्मत
भाद्र १०, २०८२, मंगलवार

नेपाल पत्रकार महासंघले आन्दोलित बनेको छ।

अनलाइन संचारमाध्यमको दर्ता र नवीकरण तत्काल खुला गर्न माग गर्दै महासंघले आन्दोलन गर्ने घोषणा गरेको हो।

महासंघको सोमबार बसेको बैठकले सरकारले करिब एक महिनादेखि अनलाइनल संचारमाध्यमको दर्ता र नवीकरणको काम ठप्प पारेको भन्दै तत्काल सुचारु गर्न माग गरेको हो।

विभागका संयोजक प्रकाश धौलाकोटीका अनुसार बैठकले अनलाइन संचारमाध्यमको दर्ता र नवीकरणको काम तत्काल सुचारु गर्न माग गर्दै बैठकबाट आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ।

जसअनुसार भदौ ११ गते (बुधबार) संचार तथा सूचना प्रविधि मन्त्रालयलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ।

भदौ १३ गतेदेखि भने कालो व्यानर राखेर सूचना तथा प्रशारण विभागमा धर्ना दिने निर्णय गरेको छ।

सरकारले छापाखाना तथा प्रकाशनसम्बन्धी ऐनमा संशोधन गरेपछि गएको साउन २० गतेदेखि अनलाइन संचारमाध्यमको दर्ता र नवीकरणको काम रोकिएको छ।

सरकारले संचार माध्यम दर्ता ठप्प पारेर नागरिकको संवैधानिक हक हनन् गरेको महासंघको ठहर छ।

अनलाइन संचारमाध्यम नवीकरण नहुँदा पत्रकारहरूले प्रेस प्रतिनिधि प्रमाणपत्र समेत नवीकरण गर्न पाएका छैनन्।

नवीकरण नभएकै कारण चाडपर्वको मुखमा विज्ञापनसम्बन्धी कारोबारमा समेत असहजता सिर्जना भएको छ।

बैठकमा महासंघकी अध्यक्ष निर्मला शर्माले अनलाइन संचारमाध्यमको दर्ता र नवीकरण तत्काल सुचारू हुनुपर्ने माग गरिन्।

उपाध्यक्ष उमिदप्रसाद बागचन्दले सरकारले एकपछि अर्को कानुन बनाएर नागरिकको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकारमा नियन्त्रण गर्ने प्रयास गरिरहेको बताए।

महासचिव रामप्रसाद दाहालले अनलाइन संचारमाध्यमको दर्ता र नवीकरण रोकेर सरकारले असंवैधानिक कार्य गरेको बताए।

सरकारको यस्तो हर्कतले नागरिकको संवैधानिक हक अवरुद्ध भएको शर्माको भनाई छ।

सरकारले तत्काल दर्ता र नवीकरणको काम सुचारु नगरे महासंघले आन्दोलन चर्काउने दाहालले बताए।

कोषाध्यक्ष रामकृष्ण अधिकारीले अनलाइन संचारमाध्यको दर्ता तथा नवीकरण प्रक्रिया रोकिदाँ प्रेस स्वतन्त्रता कुण्ठित भएको भन्दै तत्काल सेवा सुरु गर्नुपर्ने माग गरे।