७ दिनभित्र सामाजिक सञ्जाल दर्ता हुनुपर्‍यो

तोकिएको अवधिमा सूचीकरण नभए नेपालमा निष्कृय गराउन दूरसंचार प्राधिकरणलाई निर्देशन दिने निर्णय

जनसम्मत
भाद्र ११, २०८२, बुधबार

सरकारले ७ दिनभित्र सामाजिक सञ्जाल दर्ता हुनुपर्ने निर्णय गरेको छ।

भदौ ९ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यस्तो जानकारी गराएका हुन्।

सर्वोच्च अदालतको आदेशबमोजिम सामाजिक सञ्जाल ७ दिनभित्र संचार मन्त्रालयमा सूचीकरण हुनुपर्ने र तोकिएको अवधिमा सूचीकरण नभए नेपालमा निष्कृय गराउन दूरसंचार प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेको हो।

मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्दै संचारमन्त्री गुरुङले भने, ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० तथा सर्वोच्च अदालतको आदेशबमोजिम सामाजिक सञ्जाल संचालकलाई जिम्मेवार तथा जवाफदेही बनाउन ७ दिनको म्याद दिई संचार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरणका लागि सार्वजनिक रूपमा आह्वान गर्नेछ। तोकिएको अवधिमा सूचीकरण हुन नआउने वा सूचीकरणका लागि सम्पर्कमा समेत नआउने सामाजिक सञ्जाललाई क्रमश: नेपालभित्र निष्कृय गराउन र सूचीकरण गरेमा सोही क्षणबाट ती सामाजिक सञ्जाललाई पुन: सकृय गराउन संचार तथा सूचना प्रविधि मन्त्रालयमार्फत नेपाल दूरसंचार प्राधिकरणलाई निर्देशन दिइनेछ।’

फाइल फोटो