
पोखराका तीन जना उत्कृष्ट विद्यार्थीलाई लक्ष्मी विद्या पदक प्रदान गरिएको छ।
पोखरा उद्योग वाणिज्य संघले शनिबार एक विशेष समारोहबीच लक्ष्मी विद्या पदक प्रदान गरेको हो।
संघको ७१ औँ साधारण सभाको उद्घाटन सत्रमा कास्कीका विभिन्न क्याम्पसका विद्यार्थीलाई सम्मान गरेको हो।
यस वर्षको लक्ष्मी विद्या पदक–२०८१ बाट एमबीएसतर्फ दीपा तिवारी (पृथ्वी नारायण क्याम्पस), बीबीएतर्फ प्रमिशा सापकोटा (ला ग्राण्डी इन्टरनेशनल कलेज) र बीबीएसतर्फ विजय सुवेदी (पृथ्वी नारायण क्याम्पस) सम्मानित भएका छन्।
स्नातकोत्तर तहका विद्यार्थीलाई नगद २५ हजार र स्नातक विद्यार्थीलाई १५ हजार नगद रुपैयाँ पुरस्कारसहित साथमा ताम्रपत्र, दोसल्ला र मालासहितको सम्मान दिएको हो।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक अन्जन श्रेष्ठ, संघका अध्यक्ष गोकर्ण कार्की र लक्ष्मी ग्रुपका अर्का कार्यकारी निर्देशक सुनिल श्रेष्ठलगायतले विद्यार्थीहरुलाई पुरस्कार र सम्मान प्रदान गरेका हुन्।
नेपालकै प्रतिष्ठित व्यावसायिक घराना लक्ष्मी ग्रुपले स्थापना गरेको यो लक्ष्मी विद्या पदक पुरस्कार एवं सम्मान पोखरा उद्य्रोग वाणिज्य संघले संचालन गर्दै आएको छ।
व्यवस्थापन संकाय अन्तरगत स्नातकोत्तर तह (एमबीएस) र स्नातक तह (बीबीए तथा बीबीएस) मा सर्वाधिक अंक ल्याएर उत्तीर्ण हुनेलाई यो पदक दिइँदै आएको छ।
हालसम्म ७३ जना विद्यार्थी यो पदकबाट सम्मानीत भइसकेका छन्।
सन् १९९८ मा ‘पोखरेली नवरत्न’ सम्मान प्राप्त बुद्धिबहादुर श्रेष्ठले अक्षयकोष स्थापना गरेर सुरु गरेको यो पदक कार्यक्रम निरन्तर संचालन हुँदै आएको छ।
यसैगरी, संघको साधारणसभामा कपडा व्यवसायी संघलाई उत्कृष्ट बस्तुगत संघको रुपमा सम्मान गरिएको छ।
वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले पुरस्कार हस्तान्तरण गरेका हुन्।